• २७ पुस २०८१, शनिबार

सफलताको बाटो धैर्य र संयम

blog

मानव जीवनको पलपलमा धैर्य र संयमको विशिष्ट महत्व छ । ती दुईको अपरिहार्यता बुझेर स्वकर्ममा लागेका वा लाग्न चाहनेहरूले उन्नतिको शिखर चुमेका छन् । यसरी शिखर चुम्नेहरूको सङ्ख्या उल्लेख्य छ । धैर्य र संयम् आत्मसात् नगर्ने वा नगरेका पनि छन् । तर ती स्थिर बनेर बसेका छन् । जीवन एउटा यात्राको नाम हो र यो सधैँ चलायमान रहन्छ । सकारात्मक रूपमा चलायमान नभएका तथा धैर्य र संयम गुमाउने ठाउँ ठाउँ वा गल्ली गल्लीमा छोडिएका छन् । छोडिएका कारण पछिको पछि छन् । पछि परेकैले जीवनभर पश्चतापको आहालमा डुबेको देखिन्छ । यसर्थ हरेक सफलता र खुसीका लागि जीवनका क्षण क्षणमा धैर्य र संयम हुनु आवश्यक छ । धैर्य र संयम गुमाएकाहरू जीवनभर पीडा र व्यथा बोक्न विवश भएका कैयौँ उदाहरण आँखा अगाडि छन् । ती ठाउँ ठाउँ र बस्ती बस्तीमा भेटिन्छन् । विगत फर्काउने कुनै शक्ति र सामथ्र्य बाँकी हुँदैन । विगत सधैँ विगत रहने हुँदा वर्तमानसँग दाँज्न नसकिएको हो । 

धैर्यको अर्थ विपत्ति तथा सङ्कट पर्दा नआत्तिने गुण, स्थिर र शान्त भएर रहेको अवस्था तथा धीरता र स्थिरता हो । यसैगरी संयम भन्नाले व्यावहारिक दृष्टिले आफूलाई अनुचित काममा प्रवृत्त हुनबाट बचाउनु भन्ने बुझिन्छ । अर्थात् जो आफैँसँग अधैर्य छ, असंयम छ, असन्तुलित छ, जीवनको वास्तविकता बुझ्दैन तथा समय र परिस्थितिको मूल्याङ्कन गर्न असमर्थ रहन्छ, त्यसलाई धैर्य र संयम गुमाइरहेको एउटा अवस्था मान्न सकिन्छ । यस्ता व्यवहारतिर अग्रसरहरू नकारात्मक भाव छोडेर सकारात्मक भाव आत्मसात् गर्नेतर्फ ध्यान दिँदैनन् । उनीहरूका अगाडिका बाटा सजिला वा सहज हुँदैनन् । चाहेर होस् वा नचाएर जीवन बाँच्ने क्रममा धेरैभन्दा धेरै अप्ठेरा/असजिला कुरालाई पनि सहजतापूर्वक स्वीकार्नु पर्ने हुन्छ । सोच्दै नसोचेको बाटोमा हिँड्न बाध्य हुनुपर्ने अवस्था आउन सक्छ । यसर्थ ती यथार्थता मनन गर्दै अगाडिका बाटा तय गर्नेहरू सफलताका र नगर्नेहरू असफलताका प्रतिस्पर्धी हुने गर्छन् । 

हाम्रा आँखामा जो जति सफल देखिन्छन् वा प्रगति पथमा अगाडि बढिरहेका हुन् भन्ने लाग्छ तिनीहरूको जगमा संयम र धैर्यले महत्वपूर्ण काम गरेको हुन्छ । संयम र धैर्य भएकाहरूले मात्र सफलता हात लगाएका छन् । ती नभएकाहरू पश्चातापको माला घाँटीमा बेरेर आफैँभित्र हराइरहेछन् । संयम र धैर्य आत्मसात् गरेकाहरूले पछि फर्किरहनु पर्दैन । जीवनको हरेक पलमा खुसी, सुखी र सन्तुष्ट रहन सक्छन् । सधैँ संयम र धैर्य आत्मसात् गर्नु आवश्यक छ । नगरे क्षण क्षणमा दुर्घटनामा पर्ने सम्भावना रहन्छ । हाम्रा आँखाले यस्ता धेरै दुर्घटना देखेका छन् । ती यथार्थ मन मुटुमा राखेर भविष्यको भाबी योजना बनाउनु आवश्यक छ । मन सहज, सरल, उर्वर र गतिशील नबनाएकै कारण भविष्य अनिश्चित हुने सम्भावना प्रबल रहने हो । अनिश्चित भविष्य भएकाबाट सफल र प्रभावकारी काम हुन सक्दैन । तिनीहरूबाट बनाइएका योजना नकारात्मक र गतिहीन बन्ने सम्भावना प्रचुर रहन्छ । हाम्रो दृष्टि यतातिर जान सकिरहेको छैन । किनकि धैर्य र संयमलाई सामान्य कुरा ठानिरहेका छौँ । 

वर्तमानलाई सबैथोक देखिरहेका छौँ । वर पर वा तल माथि हेरिरहेका छैनौँ । विगत थियो र भविष्य पनि छ, मनमा सोचसमेत आउन सकिरहेको छैन । जे हो आज हो र जे गर्नु पर्छ आजै गर्नु पर्छ, यही भनिरहेका छौँ । भनाइ र गराइमा निकटको सम्बन्ध छ । मन मस्तिष्क अलि पर जान सकिरहेको छैन । यही सेरोफेरोमा घट्ट झैँ घुमिरहेछ । यस्तै प्रवृत्ति र चिन्तनका कारण अधैर्य तथा असंयमले मनभित्र बास मात्र नपाएर राजसमेत गरिरहेको हो । वर्तमान आज भए पनि यो नै सबैथोक होइन । हिजो भूत थियो र भोलि भविष्य हुने छ यता गएकै छैनौँ । जानु पर्छ, सोच मनका गह्राहरूमा उमार्न सके अधैर्य र असंयम हामीभित्र प्रवेश गर्नै सक्दैनन् । हामी गौँडा गौँडा र बिसौनी बिसौनीमा पटक पटक चुकिरहेका छौँ । यही कारण सफलता टाढाभन्दा धेरै टाढाको वस्तु बनिरहेको हो । मनमा धैर्य र संयम राखी आत्मविश्वास बोकेर कर्म पथमा अगाडि बढ्न सके सफलता टाढाको वस्तु हुँदै होइन । यी सबैको जगमा धैर्य र संयमको महत्वपूर्ण भूमिका छ । यो कुरा मनमा राखेर हिँड्न सके पछाडि फर्कनुपर्ने अवस्था आउने सम्भावना अत्यन्त कम छ । 

जीवनका प्रत्येक मोडमा संयम र धैर्यको खाँचो उत्तिकै छ । एक क्षेत्र वा एक भागमा मात्र पटक्कै होइन । असंयम र अधैर्यले बनाउने काम गतिहीन मात्र हो । आज जताततै असंयमता र अधैर्यता सर्वसुलभ सुलभ रूपमा उपलब्ध छन् । हुर्कन र बढ्न हामी मलजल गरिरहेका छौँ । आजका मानिसका मनबाट संयम र धैर्यको मात्रा क्रमशः घटिरहेका कारण असंयम र अधैर्यको मात्रा क्रमशः बढिरहेको हो र यिनीहरू राज गर्नतिर अग्रसर बनेका हुन् । धैर्य र संयम् असफल भएपछि मनमा नकारात्मक भाव वद्धि हुने हुन् । यसले समाजलाई बिथोल्नुका साथै अराजकता निम्याउन पनि सहयोग गर्छ । यो विषयमा सबै क्षेत्र र तह तप्काबाट गहन अध्ययन र विश्लेषणका साथ निराकरणका निम्ति पाइला चाल्नु आवश्यक छ । बेलैमा नसोचिए असंयम र अधैर्यताबाट आउने परिणाम खतरनाक बन्ने सम्भवना प्रबल रहन्छ । त्यो खतरनाक परिणामले गर्ने हानिनोक्सानी एक पक्षमा मात्र नभएर सबैतिर बराबरी हुन्छ । 

मानिसलाई अधैर्य र असंयम बनाउन आन्तरिक र बाह्य दुवै कारकको महत्वपूर्ण भूमिका हुन्छ । आन्तरिक कारक व्यक्ति स्वयम् तथा उसको घर परिवार हो । त्यो व्यवस्थापनको सही पहलकदमी घर परिवारले मात्र गर्न सक्छ । घर परिवारको सर सहयोग तथा सद्भावबिना समस्या समाधानका उपाय खोज्न सकिँदैन । घर परिवारको उचित रेखदेख र जिम्मेवारी भए यस्ता समस्या अति कम हुन्छन् । अर्को बाह्य कारक हो । यसको क्षेत्र आन्तरिकभन्दा अलि फराकिलो हुन्छ । समाज, साथीभाइ, दौँतरी, देखासिकी, प्रतिस्पर्धा र आलस्यता प्रमुख बाह्य कारक हुन । आन्तरिक तथा बाह्य कारकबाट उत्पन्न असंयमता र अधैर्यता दुवैलाई कम आँक्न सकिँदैन । यति हुँदाहुँदै पनि दुवै कारक नियन्त्रणभन्दा बाहिर चाहिँ हुँदैनन् । जे जसो भए पनि आन्तरिकभन्दा बाह्य कारकमा अधैर्यता र असंयमताको मात्रा अलि बढी हुन्छ । बाह्य कारकमा धेरैतिरबाट खेलिने भएका कारण परिस्थिति अलि जटिल हुन पुगेको हो । यी यावत् समस्याको समाधान बेलैमा नगरिए निम्तिने परिणाम दुःखद हुनेमा कुनै शङ्का छैन । मानिस असंयम र अधैर्य बन्दा क्षणिक लाभ भए पनि दीर्घकालीन रूपमा चाहिँ त्यो केवल हानिकारक मात्र हुन्छ । 

कुनै पनि असल नागरिक आआफ्ना मुलुकका सीमा सुरक्षा गर्ने जिम्मेवार सिपाही हुन् । ती आफ्ना पुर्खाहरूले रगत पसिना बगाएर निर्माण गरेको देशको विपक्षमा उभिन सक्दैनन् । हामी पनि आआफ्ना देशका जिम्मेवार नागरिक भएका कारण पाइला टेकेको माटोको सर्वोपरि हित र भलाई चिताउनु आवश्यक छ । देशको माटो र सीमाको भलाई नचिताउनेहरू असल नागरिक होइनन् । चौतारामा ठिङ्ग उभिएर वर्तमानतिर आँखा लगाउँदा हिँड्नेभन्दा नहिँड्ने बाटातिर बढी पाइला चलाइरहेका हौँ कि भन्ने आभाष हुन्छ । यसले हाम्रा क्रियाकलाप असहज बन्दै गएको आभाष हुन्छ । आजका हामी धेरैले सहज बाटोतिर आँखा लगाएका छैनौँ । मनस्थिति विकृति उन्मुख हुँदै गए जस्तो लाग्छ । देखाउने देखिने बहानामा वर्षौंवर्ष देखिका उर्वर सोचमा विकृति विसङ्गति उम्रिन लागेका छन् । यिनले अराजकतातिर डोर्‍याउन खोजेको पो हो कि भन्ने पनि भान हुँदै छ । यस्ता काम कुराले अलपत्र बनाउने सम्भावना प्रचुर हुन्छ । बिच बाटोमै हराउने परिस्थिति आउन । बिच बाटो भनेको अलपत्रता हो । त्यसले माझमा उभिएर पनि गन्तव्य पुग्न वञ्चित गरिरहन्छ । त्यसो गर्नेहरू असंयम र अधैर्यका पक्षपाती हुन् । तिनले नकारात्मकतालाई प्रश्रय दिइरहेका हुन्छन् । 

हामी अगाडि अगाडि पुग्ने बहानामा बेतुकका गालीगलौजमा टीका टिप्पणीमा रमाउन थालेका छौँ । नकारात्मक विषयवस्तुमा टीका टिप्पणी गर्न गर्व सम्झिरहेका छौँ । कुनै पनि अवस्थामा यो सकारात्मक सोच र चिन्तनको विषय हुन सक्दैन । यसले गर्ने भनेको सकारात्मक मनबाट बिस्तारै बसाइँ सारेर नकारात्मक पाटोमा पुर्‍याउने नै हो । अर्थात् मन नकारात्मक बाटोतिर लागिरहेका यो एउटा सङ्केत हो । मनमा बेला बेलामा उत्पन्न हुने असंयम र अधैर्यको परिणामले यस्तो अवस्था उत्पन्न हुन्छन् । वर्तमानको चित्र हेर्दा नकारात्मकताले अझ धेरै राज गर्न खोजिरहेको हो कि भन्ने भान हुन्छ । यो अगाडि बढ्ने बाटो हैन । धैर्य र संयम बोकेर देश बनाएका पुर्खाहरूले देखाएको बाटोबाट हिजो हिँडेका हामी आज कता जान खोजिरहेका छौँ ? यो प्रश्न धेरैतिरबाट उठिरहेको छ । विगत कुरा भुलेर अधैर्य र असंयम बनिरहेका छौँ जस्तो लाग्छ । अधैर्य असंयमले देखाउने बाटो राम्रोसँग जान्दछौँ तर बदल्न चाहिँ किन हो किन आँट गरिरहेका छैनौँ । टाउको हल्लाउँदै पछिपछि लाग्ने प्रवृत्ति बढिरहेको छ । 

हिजो आज सामाजिक सञ्जालमा सकारात्मक समाचार अति कम देखिन थालेका छन् । एकअर्का विरुद्धका गालीगलौज, छिनाझम्टी, रिस, डाढ, आवेग, घृणा, तिरस्कार, बदलाभाव र कुण्ठा जस्ता कुराले बढीभन्दा बढी स्थान ओगट्न थालेको प्रस्ट देखिन्छ । यी सबै अधैर्य र असंयमताले बनाएका बाटा हुन् । यी र यस्ता बाटाले हामीलाई कहीँ पुर्‍याउँदैनन्, जहाँको त्यहीँ र जस्ताको त्यस्तै छाड्छन् । नकारात्मकता सकारात्मकताको पर्याय कहिल्यै हुन सक्दैन । पछि लागेपछि हाम्रो कर्म त्यही बाटो कुर्नु मात्र हुन्छ । हरेक जीवन यात्रा एउटा महìवपूर्ण पाटो हो । यसलाई सामान्य नजरले नहेरौँ । जीवनलाई गतिशील, रमणीय र मिठासपूर्ण बनाऔँ । यसका लागि सकारात्मक सोचका साथ संयम र धैर्य बन्नु आवश्यक छ । यसर्थ यी दुई कुरा हरेक जीवनका सफलताका मूल सूत्र हुन् । 

  

Author

नवराज रिजाल