• २६ पुस २०८१, शुक्रबार

व्यवस्थापनमा आधुनिकिकरण ल्याएर उद्योग अगाडि बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह

blog

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह ।

काठमाडौँ, पुस २६ गते। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थापनमा आधुनिकिकरण ल्याएर उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभएको छ। 

नेपाल उद्योग वाणिज्य संघको चौंथो वार्षिक साधारणसभामा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। नेपालका उद्योग जसरी सञ्चालन हुनुपर्ने हो हुन नसकेको पनि उपप्रधानमन्त्री सिंहले बताउनुभयो। 

‘नेपालको उद्योग क्षेत्र जुन रुपमा सञ्चालन हुनुपर्ने हो भइरहेको छैन भन्ने तथ्यांकले पनि देखाइरहेको छ। अब स्थापना भइसकेका उद्योगलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने। व्यवस्थापनमा आधुनिकिकरण ल्याएर उद्योगहरुलाई अगाडी बढाउनुपर्छ,’ उहाँले भन्नुभयो। 

त्यस्तै उहाँले शिक्षा नीतिमा पनि मन्थन गरेर समयको माग बमोजिम संशोधन गर्नुपर्ने धारणा राख्नुभयो।  शैक्षिक बेरोजगारको संख्या बढिरहेकोमा अहिले चिन्ता व्यक्त भइरहेको भन्दै उपप्रधानमन्त्री सिंहले अब शैक्षिक प्रमाणपत्रसँगै सिपको सर्टिफिकेट दिने काममा लाग्नुपर्नेमा जोड दिनुभयो। 

उहाँले अहिले देशमा युवा बस्न चाहँदैनन् भनेर गलत भाष्य स्थापीत गर्ने काम भइरहेको बताउनुभयो। ‘अहिले देशमा कोही युवाहरु बस्नै चाहँदैनन् भनेर एउटा भाष्य बनाइएको छ। बस्नै नचाहने भनेर भाष्य मात्र विकसित गर्नेको काम त सकियो,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘तर, समस्या समाधानका लागि सबैले जिम्मेवार भएर काम गर्नसक्नुपर्छ। यहाँ कस्तो छ भन्दा अधिकारको कुरा ठुलठुलो स्वरमा उठाउने अनि जिम्मेवारीको कुरा आउँदा सबै पछि पछि हट्ने। अनि कहाँ बाट समाज अगाडी बढ्छ ?’ 

निराशा बाँडेर मात्रै समाजले गति नलिने भन्दै सरकारले सम्भावनाको खोजी गरिरहेको सिंहले बताउनुभयो। उहाँले अधिकारसँगै सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो।