बुटवल समाचारदाता
बुटवल, पुस २६ गते । रुपन्देहीका थारू समुदायको बसोबास रहेको गाउँमा माघी महोत्सव सुरु भएको छ । जिल्लाका थारू बहुल रहेका गाउँमा हरेक वर्ष जस्तै यो वर्ष पनि माघीको अवसरमा गरिने औपचारिक कार्यक्रम बिहीबारदेखि सुरु भएको हो । माघी अर्थात् खिचडी पर्वका अवसरमा रुपन्देहीको सैनामैना, कञ्चन, गैडहवा, सूर्यपुरा, सियारी, शुद्धोधनलगायतका क्षेत्रमा माघी महोत्सव आयोजना भएको छ । थारू कल्याणकारी सभा सैनामैना रुपन्देहीले बिहीबारदेखि तीनदिने कार्यक्रम गरी माघी अर्थात् खिचडी महोत्सव मनाउन सुरु गरेको छ ।
सभाका सैनामैना अध्यक्ष दुलबहादुर थारूले बिहीबार रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै शुक्रबार विभिन्न प्रतियोगितात्मक कार्यक्रम निबन्ध तथा खेलकुद आयोजना गरिने र अन्तिम दिन शनिबार सांस्कृतिक महोत्सव गरिने जानकारी दिनुभयो । थारू समुदायका कवि केवलप्रसाद थारूले महोत्सवलाई आकर्षक बनाउन थारू समुदायको लोकप्रिय झुमडा, झर्रा, सोरठी, बड्का तथा लाठी नाच प्रदर्शन गरिने जानकारी दिनुभयो ।
त्यसै गरी थारू समुदायको मौलिक एवं परम्परागत खानाका रूपमा रहेको घोँगी, अनदीको भुजा, कछुवाको मासु, पतुसनी, ढिकरी, माछाका परिकार र रोटीलगायतका परिकार माघी महोत्सवमा राखिने उहाँले बताउनुभयो । कञ्चन गाउँपालिकाको वडा नं. ४ बनकसिया बजारमा माघी महोत्सव सुरु भएको छ । थारू कल्याणकारी सभा कञ्चनको आयोजनामा सुरु भएको माघी महोत्सवमा थारू जातिको लोप हुन लागेको बडका नाच, झर्रा नाच, झुमडा, सोरठीलगायतका नाच प्रदर्शन गर्ने तयारी भएको छ ।
कञ्चन गाउँपालिकाका थारू अगुवा विष्णु थारूले माघीका अवसरमा थारू समुदायको लोपोन्मुख नाच प्रदर्शन गरिनुका साथै थारू खानाको परिकार पनि प्रदर्शनमा राखिने बताउनुभयो । त्यसै गरी शुद्धोधन गाउँपालिकाको दरबहवा, गैडहवाको शीतलापुर गाउँमा पनि माघीको अवसरमा तीन दिने माघी महोत्सव सुरु भएको छ ।