• २६ पुस २०८१, शुक्रबार

प्रजातन्त्र सेनानी बस्नेतको निधन

blog

स्वर्गीय देवीध्वज बस्नेतको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा ।

सन्तोष राउत

सोलुखुम्बु, पुस २५ गते । प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका ज्येष्ठ नेता देवीध्वज बस्नेतको निधन भएको छ । काठमाडाैँको गौरीघाट स्थित निजी निवासमा बुधबार राती ९ः३८ बजे ९८ वर्षको उमेरमा निधन भएको हो । 

राणा शासन हटाउने २००७ सालको क्रान्तिमा सक्रिय सहभागिता जनाउनुभएका बस्नेत राणा शासनविरुद्धको आन्दोलनमा मुक्ति सेनामा लिखुखोला क्षेत्रबाट कमान्डर भएर पूर्व कब्जा गर्दै चरीकोटसम्मको प्रजातन्त्र प्राप्तिको लडाईंमा प्रत्यक्ष नेतृत्व गर्नु भएको थियो ।

२०१५ सालको आम निर्वाचनमा पूर्व ३ नं. क्षेत्रबाट नेपाली कांग्रेसलाई निर्वाचित गराउन बस्नेत परिवारले ठुलो मिहिनेत गरेको जानकारहरू बताउँछन् ।

नेपाली कांग्रेस प्रतिबन्धित रहेकै अवस्थामा २०४५ साल मङ्सिरदेखि ०४८ को नवौं महाधिवेशनसम्म कांग्रेस सोलुखुम्बुका सभापति रहेका छत्रध्वज बस्नेतको भनाइमा कांग्रेसले २०१६ सालमा दुई तिहाई बहुमतको सरकार गठन गरेपछि पार्टी निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय सम्मेलन गरेको थियो । त्यो सम्मेलनमा देवीध्वज बस्नेत पूर्व ३ नं. बाट प्रतिनिधि चुनिएर केन्द्रीय वुद्धिजीवी सभाको सदस्य निर्वाचित हुनुभएको थियो । 

बस्नेत पञ्चायतकालमा सोलुखुम्बुको साविक चौलाखर्कमा जनपक्षीय प्रधानपञ्च निर्वाचित हुनु भएको थियो भने २०४९ को स्थानीय निर्वाचनमा चौलाखर्क गाविसको अध्यक्ष बन्नु भएको थियो । बस्नेत नेपाली कांग्रेसको इतिहासका लेखक एवम् संविधान सभा सदस्य स्वर्गीय पुरुषोत्तम बस्नेतको दाजु तथा पूर्वमन्त्री अम्बिका बस्नेतको काका हुनुहुन्छ । 

स्व. बस्नेतको प्रार्थिव शरीरमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापाले बिहीबार पशुपति आर्यघाटमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँको निधनले कांग्रेसमा अपुरणीय क्षति पुगेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले बताउनुभयो ।

नेता बस्नेतकोे निधनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा ठुलो रिक्तता महसुस गरेको कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेलजाङ्बु शेर्पाले विज्ञप्तिमार्फत उल्लेख गर्नुभएको छ ।