काठमाडौँ, पुस २५ गते । ‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध सानदार जित निकालेको छ ।
वीरगन्जस्थित नरायाणी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले मधेशमाथि एक इनिङ्स र ३५ रनको जित निकालेको हो । दोस्रो इनिङमा मधेश ३२.२ ओभरमा सबै विकेट गुमाएर ९४ रनमै समेटिएपछि पुलिसले फेरि ब्याटिङ गर्नुपरेन ।
मधेशका लागि विशाल पटेलले २७, मायन यादवले २२ र हिमान्शु दत्तले १७ रन बनाउनुभयो । मधेशका अन्य ब्याट्सम्यान निरीह बनेका थिए । बलिङमा पुलिसका कुशल भुर्तेलले पाँच विकेट लिनुभयो ।
गुलशन झाले तीन तथा ललितनारायण राजवंशीले दुई विकेट लिनुभयो । अलराउन्डर प्रदर्शन गर्नुभएका पुलिसका कुशल भुर्तेल प्लेयर अफ दि म्याच हुनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेश पहिलो इनिङमा पनि एक सय २९ रनमा समेटिएको थियो । २५८/४ को स्थितिमा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको पुलिसले अघिल्लो दिन एक सय २९ रनको अग्रता लिएको थियो ।
यसअघि पुलिसले विभागीय अर्को टोली आर्मी र मधेशले बागमती प्रदेशसँग बराबरी खेलेको थियो । अब लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेश र मधेशले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।