• २६ पुस २०८१, शुक्रबार

भारतले 'आइएसआई' नवीकरण नगर्दा सिमेन्ट निर्यात रोकियो

blog

रुपन्देहीको भैरहवा स्थित लुम्बिनी कोरिडोरमा रहेका सिमेण्ट उद्योग । तस्बिर : श्यामशंकर पाण्डे

श्यामशङ्कर पाण्डे

लुम्बिनी, पुस २५ गते । भारत सरकारको ब्युरो अफ इण्डियन स्ट्यान्डर्स (बिआईएस)ले गुणस्तरसम्बन्धी इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आइएसआई) मार्क (सर्टिफिकेट) नवीकरण नगर्दा नेपाली सिमेन्ट निर्यात रोकिएको छ ।

"समयावधि नसकिँदै हामीले नवीकरणका लागि ३ महिना अगावै निवेदन दिएका थियौं । । तर भारतले न नवीकरण गरेको छ न कारण नै खुलाएको छ", कपिलवस्तुमा उद्योग रहेको बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक रौनक अग्रवालले भन्नुभयो, "हाम्रो सबै प्रयासले काम गरेन । अब, सरकारले यसमा पहल गर्न जरुरी छ ।" 

अग्रवालले नेपाली सिमेन्टको भारतमा राम्रो मार्केट रहेको तर नवीकरण नहुँदा चिन्ता थपिएको बताउनुभयो । आइएसआई नवीकरण नहुँदा कृष्णनगर नाका हुँदै भारततर्फ निर्यात भैरहेको सम्रान्ट सिमेन्टको निर्यात पनि रोकिएको छ । 

रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट लिमिटेडको निर्यात पनि ठप्प छ । अर्घाखाँचीको गत २०८१ असोज ९ देखि निर्यात रोकिएको हो । अर्घाखाँचीले दुई वर्षमा करिब ५५ करोड रुपैयाँको सिमेन्ट निर्यात गरेको थियो ।

अर्घाखाँची सिमेन्टका नायब महाप्रबन्धक कृष्णप्रसाद पाण्डेका अनुसार अहिले नवीकरण अभावमा धमाधम उद्योगहरुको निर्यात रोकिएको छ । नवीकरण गरी सहज वातावरण बनाउन सरकारले तत्काल पहल गर्नुपर्ने उहाँको भनाइ छ । 

विगतका वर्षमा भारतले आइएसआई मार्क नवीकरण गरे पनि यस वर्ष भने अवधि सकिएका कुनै पनि उद्योगहरुको नवीकरण गरेको छैन । अहिले कृष्णनगर नाका हुँदै घोराही सिमेन्ट, रुपन्देहीको बेलहिया नाका हुँदै पाल्पा र सर्वोत्तम सिमेन्टले भारततर्फ सिमेन्ट निर्यात गरिरहेका छन् । तर यी उद्योगको पनि आइएसआई मार्क नवीकरण अवधि केही महिनाभित्रै सकिँदैछ । उद्योगीहरुका अनुसार भारतले यसैगरी नवीकरण नगर्दै जाने हो भने केही समयपछि सबैजसो उद्योगले गर्दै आएको सिमेन्ट निर्यात रोकिनेछ ।

भारतले गुणस्तर चिन्ह र आयात अनुमती दिएपछि भैरहवा नाकाबाट आर्थिक वर्ष २०७९–८० मा ३१ करोड ६ लाख र २०८०–८१ मा १ अर्ब ६५ करोड ८६ लाख रुपियाँ बराबरको सिमेन्ट निर्यात भएको थियो । चालु वर्षको मङ्सिर मसान्तसम्म ५ महिनाको अवधिमा ४३ करोड ४० लाख रुपियाँको २ लाख ५९ हजार ७२१ टन सिमेन्ट भारततर्फ निर्यात भएको छ । 

पछिल्लो समय नेपालमा सिमेन्ट खपत कम छ । यस्तोबेला भारतले आइएसआई नवीकरण नगर्दा उद्योगी झन् निरासश बनेका छन् । भारतले केही सिमेन्ट उद्योगलाई २ र केहीलाई १ वर्षका लागि अनुमति दिएको थियो ।

उद्योगीहरुले सरकारले भारतसँग कूटनीतिक पहल गरेर तत्काल आइएसआई नवीकरणको व्यवस्था मिलाउन आग्रह गरेका छन् । नेपालका चुरेपहाडबाट उत्खनन गरिएको चुनढुङ्गाबाट बनेको सिमेन्ट भारत निर्यात हुँदा यसले उद्योगीसँगै मुलुककै अर्थतन्त्रमा टेवा पुगिरहेको थियो । 

पछिल्लो समय धमाधम निर्यात रोकिँदा यसले निजी क्षेत्र थप धराशायी हुने चिन्ता उद्योगीको छ । भैरहवा भन्सारका अनुसार बेलहिया हुँदै भारततर्फ निर्यात हुने मुख्य १० वस्तुमा सिमेन्ट र सिमेन्ट क्लिंकर पनि पर्छ । तर पछिल्ला महिनामा केही उद्योगको निर्यात रोकिँदा विस्तारै निर्यात घटिरहेको छ । 

भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले विगतमा निर्यात गरिरहेका उद्योगको निर्यात रोकिनु दुःखद भएको बताउँदै यसमा सबैको पहल जरुरी रहेको बताउनुभयो ।