• २५ पुस २०८१, बिहिबार

२४ किलो बढी चरेससहित तीन पक्राउ

blog

लीलाधर वली

घोराही, पुस २५ गते । दाङमा प्रहरीले २४ किलो बढी अवैध लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । अवैध लागुऔषध चरेसको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका–१३ सिर्जनशिल टोलबाट २४ किलो ७१० ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा प्युठानको स्वर्गद्वारी नगरपालिका–२ निवासी ३९ वर्षीय नीमबहादुर आले, नौबहिनी गाउँपालिका–२ निवासी २१ वर्षीया देउकली बुढामगर र रोल्पाको त्रिवेणी गाउँपालिका–७ निवासी २९ वर्षीय प्रकाश घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक श्वर थापाले जानकारी दिनुभएको छ । 

प्रहरी नायब उपरीक्षक थापाका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले बुधबार साँझ पक्राउ गरेको थियो । घोराही उपमहानगरपालिका–१३ सिर्जनशील टोलमा कुलबहादुर बस्नेतको घर भाडामा लिएर अवैध लागुऔषधको कारोबार गर्ने गरेका थिए । 

यस्तै, घरको खानतलासी गर्दा निमबहादुर र देउकलीले प्रयोग गर्ने भान्साकोठामा प्लाष्टिकको ड्रमभित्र लुकाएको अवस्थामा चरेस फेला परेपछि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।