• २५ पुस २०८१, बिहिबार

दाउन्नेको सडक पार गर्नै सकस

blog

बोमलाल गिरी

नवलपुर, पुस २५ गते । बाक्लो हुस्सु र शितलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको यात्रा निकै सकसपूर्ण हुने गरेको छ । चिनियाँ ठेकेदार कम्पनीले निर्धारित समयमा काम नगर्दा धुलाम्य भएको सडकमा बाक्लो हुस्सु र शीतलहरले बाटो चिप्लो भएपछि सवारी साधन आवागमनमा निक्कै समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेसम बोहोराले बताउनुभयो ।

यस सडकको दाउन्ने खण्ड पार गर्न निक्कै सास्ती भोग्नुपरेको यात्रुले बताएका छन् । काठमाडौँबाट बुटवल जाँदै गरेका सिमोन न्यौपानेले ८ घण्टासम्म पनि दाउन्ने पार गर्न नसकेको बताउनुभयो । बुधवार बिहान साढे एक बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको सडक बिहीबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो । 

तर राति फेरि समस्या भएको र त्यसमाथि ट्रिपरले चिप्लिएर तीन वटा सवारी साधनलाई ठक्कर दिएपछि पूर्ण रूपमा अवरुद्ध भएको सडक बिहानदेखि फेरि एकतर्फी सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक बोहोराले बताउनुभयो । नवलपरासीको बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा बाटोमा अवरोध भएको र वैकल्पिक मार्ग नभएकाले सवारी साधनलाई सहज ढङ्गले पार गराउन समस्या भएको प्रहरीले जनाएको छ । 

सम्झौताअनुसार काम भएको भए बुटवलबाट नारायणगढ सडक खण्ड विस्तारको काम दुई वर्ष पहिले नै सम्पन्न भइसक्नुपर्ने थियो । सडकको अवस्था राम्रो हुँदा दुई घण्टामा पार गरिने नारायणघाट–बुटवल सडक खण्ड पार गर्न अहिले ५ देखि ८ घण्टासम्म लाग्ने गरेको छ । 

कतिपय यात्रुले भने रातभरमा हिँडेर दाउन्ने खण्ड पार गरेका छन् । यो बाटो निर्माणका क्रममा रहेको र चिनियाँ ठेकेदार कम्पनीको लापरवाहीका कारण यात्रुले यो सडक खण्ड पार गर्न सधैंजसो सास्ती खेप्नुपरेको छ । 

सवारी सधानको सहज आवागमनका लागि प्रयास भइरहेको भए पनि कठिनाइ भएको बोहोराले बताउनुभयो । पुस लागेदेखि नै तराईका जिल्लाहरूमा बिहान अबेरसम्म नै बाक्लो हुस्सु र शीतलहर चल्ने गरेको छ ।