• २५ पुस २०८१, बिहिबार

क्षति न्यूनीकरण गर्न विशेष योजना ल्याइने

blog

जङ्गली हात्ती प्रभावित क्षेत्र अवलोकन गर्दै मन्त्री ऐनबहादुर शाहीसहितको टोली ।

दमक समाचारदाता

दमक, पुस २५ गते । सङ्घीय सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले विशेष योजना ल्याउने बताउनुभएको छ । उहाँले झापा जिल्लाको हात्ती प्रभावित क्षेत्र मेचीनगर नगरपालिकाको बाहुनडाँगीमा हात्तीगौँडा निरीक्षणपछिको छलफलमा यस्तो बताउनुभएको हो । 

मन्त्री शाहीले पछिल्लो समयमा झापासहित देशभर जङ्गली हात्तीको समस्या विकराल बन्दै गएकाले समस्या समाधानका लागि उचित रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हात्तीका कारण भइरहेको समस्या समाधानका लागि छुट्टै ऐन, कानुन बनाएर र आवश्यक रणनीति बनाएर सरकार अगाडि बढ्छ ।” 

मन्त्री शाहीले ठाउँ अनुसार हात्तीको समस्या पनि फरक फरक किसिमको रहेको भन्दै स्थानीयस्तरमा आएका सुझाव सङ्कलनलाई आधार बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीयले हात्ती–मानवमैत्री अवस्था सिर्जना गर्नका लागि माग गर्दै क्षति न्यूनीकरणका लागि प्रभावित क्षेत्रलाई केन्द्रित गर्दै समुदायमा आधारित रहेर कार्यक्रम ल्याउन मन्त्री शाहीसमक्ष आग्रह गरेका थिए ।

मङ्गलबार सङ्घीय सरकारका मन्त्री शाहीको उपस्थितिमा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माको अगुवाइ र अध्यक्षतामा हात्तीबाट सृजित समस्या समाधानको विषयमा सर्वपक्षीय छलफल भएको थियो । सो छलफलमा जानकारी गराइए अनुसार झापामा जङ्गली हात्तीको आक्रमणमा परेर अहिलेसम्म ७२ जनाको मृत्यु भइसकेको छ भने २१ वटा हात्ती मरेका र मारिएका छन् ।

छलफलमा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले कोशी प्रदेशमा हात्तीको समस्या बढ्दै गएको र जनधनको क्षतिसमेत धेरै हुन थालेको बताउनुभयो । प्रभावकारी रूपमा हात्ती–मानवमैत्री सम्बन्ध स्थापित गर्न आवश्यक कार्यक्रम ल्याउने तयारी प्रदेश सरकारले गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।