सन्तोष राउत
सोलुखुम्बु, पुस २४ गते । हिमाली जिल्ला सोलुखुम्बुमा मङ्गलबार अपराह्नदेखि यस वर्षको पहिलो वर्षा तथा हिमपात भएसँगै सोलुखुम्बु प्रहरीले ‘चालकसँग दुई मिनेट कार्यक्रम’ सुरु गरेको छ ।
वर्षासहितको हिमपातपछि सडकमा हिउँ तथा पानी जमेर धेरै चिप्लो र हिलाम्मे हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले सुरक्षित यात्राका लागि सवारी चालकहरुसँग दुई मिनेट कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो ।
जिल्लामा सवारी साधन भित्रिने तथा बाहिरिने मुख्य नाका पत्तालेलगायतका क्षेत्रमा प्रहरीले सुरक्षित यात्राका लागि सबै चालकहरुलाई रोकेर सम्भावित खतरा र सुरक्षित यात्राबारे दुई मिनेट सचेत गराउने कार्य सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरी चौकी केरुङको पत्ताले र अस्थायी प्रहरी चौकी रमितेबाट सवारी चालकहरूसँग सचेतना कार्यक्रम सुरु गरिएको हो । त्यस क्षेत्रका विभिन्न सडक खण्डमा लामो समयसम्म हिउँ रहने तथा पानी जमेर बरफ बन्ने गर्दछ । यसअघिका वर्षहरुमा पनि चिप्लिएर दुर्घटना हुने गरेको थियो ।
अझ नियमित सञ्चालन हुने यातायातका साधनभन्दा यो सिजनमा पहिलो पटक पुग्ने यातायातका साधनलाई हिउँ पग्लिएर जमेको बरफमा हुने चिप्लोबारे पनि जानकारी नहुने भएकाले यो प्रभावकारी हुने बताइन्छ । सल्लेरीबाट राजधानीलगायत टाढाका लागि छुट्ने सवारी साधान बिहान झिसमिसेमै छुट्ने हुँदा बरफमा दुर्घटनाको जोखिम बढी हुने भएकाले सजग हुुनुपर्ने यात्रुहरु बताउँछन् ।