• २५ पुस २०८१, बिहिबार

अस्पतालले ग-यो सेवा विस्तार

blog

विराटनगर समाचारदाता

विराटनगर, पुस २४ गते  । मोरङको बुढीगङ्गा गाउँपालिकाले सञ्चालन गरेको बुढीगङ्गा पालिका अस्पतालले सेवाग्राहीको हितलाई ध्यानमा राखेर दैनिक १२ घण्टा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले बिहान ८ देखि राति ८ बजेसम्म ओपिडी सेवा सुचारु राख्दा स्थानीय नागरिकलाई उपचार सेवामा सुविधा भएको छ । 

अस्पतालले सेवाग्राहीको सुविधाका लागि वर्षको ३६५ दिनै  ओपिडी सेवा सुचारु राख्ने निर्णय गरी कार्यान्वयनमा ल्याएको छ । त्यस्तै ओपिडी सेवा सबै सार्वजनिक बिदाका दिनमा पनि खुल्ने जनाएको छ । अस्पतालका व्यवस्थापक डा. सुरज थापाले भन्नुभयो, “दैनिक १२ घण्टा ओपिडी सेवा दिने र वर्षको ३६५ दिनै ओपिडी खुला रहने यो नेपालकै दोस्रो अस्पताल हो । हामीले अस्पताललाई नमुना बनाउँदै धेरैभन्दा धेरै सेवाग्राहीलाई सहज र सुलभ उपचार सेवा दिनेतर्फ ध्यान दिएर काम गरिरहेका छौँ ।” 

सुनसरीको चतरा अस्पतालमा यसअघि कार्यरत डा. थापा चार महिनाअघि मात्र बुढीगङ्गा पालिका अस्पतालमा आउनुभएको हो । त्यसअघिबाटै सकारात्मक रूपमा सञ्चालन भइरहेको अस्पताललाई अझ प्रभावकारी र स्थानीयको विश्वास जित्ने ढङ्गबाट काम गर्ने प्रयत्न आफूले गरिरहेको उहाँले  बताउनुभयो । 

सरकारले १० श-याको अस्पतालका रूपमा स्वीकृति दिएको भए पनि त्यसको क्षमता बढाउनेतर्फ काम भइरहेको थापाले जानकारी दिनुभयो । स्वीकृत शøया अनुसार अस्पतालमा सरकारले जनशक्ति आपूर्ति नगर्दा वार्षिक ठुलो धनराशि जनशक्ति व्यवस्थापनमा खर्च भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “१० श-याको अस्पतालमा सरकारले २२ जना स्वास्थ्यकर्मी उपलब्ध गराउनुपर्ने हो । त्यति दरबन्दी कायम पनि छ तर सरकारले जम्मा नौ जना जनशक्ति मात्र पठाएका कारण अस्पताल सञ्चालन गर्न अधिक व्ययभार परेको छ ।”

बुढीगङ्गा पालिका अस्पतालमा करार तथा ज्यालादारीमा राखिएका करिब २२ जना स्वास्थ्यकर्मी छन् भने १५ जनाभन्दा बढी विभिन्न तहका कर्मचारी कार्यरत छन् । सबै कर्मचारीलाई अस्पताल विकास समितिमार्फत सेवा सुविधा उपलब्ध गराउने गरेको डा. थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पालिका अस्पताल भनिए पनि गाउँपालिकाले कर्मचारीको पारिश्रमिकका लागि कुनै रकम उपलब्ध गराउँदैन । आफ्नै स्रोतबाट कर्मचारी व्यवस्थापन गरिरहेका छौँ र अस्पताल सञ्चालनका लागि आवश्यक सबै स्रोतसाधन जुटाइरहेका छौँ ।” 

अहिले अस्पतालका तर्फबाट छ जना मेडिकल अफिसर, एक जना बालरोग विशेषज्ञ, एक जना डेन्टल अधिकृत कार्यरत छन् । रेडियोलोजिस्ट र स्त्री तथा महिला रोग विशेषज्ञ चिकित्सक गरी दुई जना बुढीगङ्गा गाउँपालिकामा सञ्चालित विराट मेडिकल कलेजले सौजन्य स्वरूप उपलब्ध गराएको छ । सौजन्य स्वरूप उपलब्ध भएका चिकित्सकले बिदाका दिनमा बाहेक सबै दिन नियमित सेवा उपलब्ध गराउने गरेको डा. थापाले जानकारी दिनुभयो । नाक, कान, घाँटी, फिजियोथेरापी र आँखा उपचार सेवा पनि यसै आर्थिक वर्षभित्रबाट सुरु गर्ने तयारी अस्पतालले गरिरहेको छ । अस्पतालले २४ घण्टे आकस्मिक सेवा पनि प्रदान गर्दै आएको छ । 

दैनिक न्यूनतम १५० देखि अधिकतम चार सय जनासम्म बिरामीले सेवा लिँदै आएको अस्पतालमा व्यवस्थित प्रयोगशाला (ल्याब) सेवा, फार्मेसी सेवा र अन्य माइनर प्रोसिड्युर सबै सञ्चालनमा रहेको र छिट्टै साझा सुलभ फार्मेसी सेवा सञ्चालन गर्ने तयारी भइरहेको डा. थापाले बताउनुभयो । साझा सुलभ फार्मेसीबाट नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने र बिमाबापत प्राप्त हुने औषधीबाहेक अन्य औषधी न्यूनतम १० देखि ५० प्रतिशतसम्म छुटमा बिरामीलाई उपलब्ध गराउने तयारी गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालले गत आर्थिक वर्षमा चार करोड ५० लाख रुपियाँ आम्दानी गरेको थियो ।