काठमाडौँ, पुस २३ गते । सत्ता र शक्तिको खेलमा लागेर छिन्नभिन्न भएका मधेशकेन्द्रित दलहरू नयाँ ढङ्गले सहकार्य गर्न अग्रसर भएका छन् । सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राजनीतिक स्थिरताका लागि संविधान संशोधनमार्फत ‘थ्रेस होल्ड’ को मुद्दामा बहस थालेपछि मधेश आन्दोलनबाट उदाएका दलले एकीकृत कार्ययोजनामा छलफल थालेका हुन् ।
जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीले मधेशकेन्द्रित दललाई एउटै ठाउँमा ल्याउन वार्ता समिति बनाएर साझा मञ्चमार्फत एकीकृत र सङ्गठित गर्न प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मधेशकेन्द्रित सबै दलका नेतासँग भेटघाट जारी छ । केही दलले कार्यदल बनाएका छन् । साता दिनभित्र सबै दलले कार्यदल बनाउने छन् । लुज फोरम बनाउन उपेन्द्र यादव, महन्थ ठाकुर, रेशम चौधरी, प्रभु साह, राजेन्द्र महतोसहितका नेतासँग छलफल भइरहेको छ ।”
‘अस्तित्व जोगाउन मोर्चा’
राजनीतिक विश्लेषक चन्द्रकिशोरले सत्ता पक्षले संविधान संशोधनमार्फत थ्रेस होल्ड बढाउने तयारी गरेपछि आफ्नो अस्थित्व जोगाउन मधेशकेन्द्रित दल एक हुन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “मधेशकेन्द्रित दल थ्रेस होल्ड बढ्नेबित्तिकै खरानी नै हुन्छन् । यी दलमा एकअर्कोमा इगो छ, एकले अर्कोको नेतृत्व स्वीकार गर्दैनन् । त्यस्तो अवस्थामा लुज फोरम नै उपयुक्त हो ।”
उहाँले मधेशकेन्द्रित दलले आफ्नो एजेन्डा छोडिसकेकाले मधेश आन्दोलन ढिलो चाँडो उठ्ने अवस्था देखिएको विश्लेषण सुनाउनुभयो । राजनीतिक रूपमा अहिले मधेश पुरानै अवस्थामा पुगेकाले फेरि आन्दोलन उठ्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “त्यसको नेतृत्व कसले गर्छ भन्न सकिँदैन । यो कुरा एमाले, कांग्रेस माओवादीले बुझेका छैनन् । मधेश आन्दोलन फेरि कुनै न कुनै बेला उठ्ने अवस्था छ । सिडिओ, जिल्ला प्रहरी प्रमुख, राजदूत, कुलपति र विज्ञ कुन समुदायका भएका छन् ? भन्सारमा करका हाकिम के गर्दै छन् । यी सबैले मधेशमा समस्या बढ्दै छ ।”
कुन–कुन दल मोर्चाको प्रयासमा ?
संयोजक त्रिपाठीले तत्काल एउटै पार्टी बनाउन नखोजिएको भन्दै साझा मञ्चमार्फत गठबन्धन गर्ने प्रयास भइरहेको बताउनुभयो । उहाँले मुद्दाकेन्द्रित भई बृहत् खालको एलाइन्स बनाउन खोजिएको बताउनुभयो ।
उहाँका अनुसार मोर्चा बनाउन ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, प्रभु साह नेतृत्वको आमजनता पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति व्रmान्तिसहितका दल मोर्चागत सहकार्यका लागि छलफलमा छन् ।
लोसपाले जितेन्द्रप्रसाद सोनालको नेतृत्वमा वार्ता समिति बनाएको छ । जसपा नेपालले राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा वार्ता टोली बनाएर एकता, सहकार्य र मोर्चाका विषयमा छलफल अघि बढाउने निर्णय गरिसकेको छ ।
छलफलबाहिर साह
आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मधेशकेन्द्रित दलसँग मोर्चा बनाउनेबारे कुनै छलफल नभएको दाबी गर्नुभयो । राष्ट्रिय मुक्ति आन्दोलनका संयोजक एवं पूर्वमन्त्री राजेन्द्र महतोले अधिकारवादी, पहिचानवादीलाई समाप्त पार्ने खेल सुरु भएपछि एक हुन छलफल गर्न थालेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो कुनै चुनाव जित्न वा सांसद बन्न होइन । कुनै पद र अवसरका लागि लुज फोरम बनाउन खोजिएको होइन । गठबन्धन आवश्यकतामा एजेन्डामा केन्द्रित हुने छ ।”
उहाँले मोर्चामा मधेशीसँगै दलित, जनजाति, थारू, शेर्पा, मगर, गुरुङ, राई, लिम्बूसहित सबै समुदायलाई समेटेर अधिकार र पहिचानवादीको बृहत् मोर्चा बनाउने प्रयासमा लागेको बताउनुभयो ।
उपेन्द्र यादव नेतृत्वको जसपाका नेता प्रकाश अधिकारीले मधेशकेन्द्रित दलबिच सहकार्य गर्नेबारे सामान्य छलफल मात्रै भएको जानकारी दिनुभयो । अशोक राई नेतृत्वको जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले दलहरूबिच सहकार्यका लागि प्रारम्भिक छलफल भइरहेको बताउनुभयो ।
उहाँले संविधान संशोधन गर्दा राजनीतिक स्थिरता दिन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, खुला सूचीमा आधारित समानुपातिक प्रणाली, विज्ञबाट मन्त्री बनाउनुपर्ने एजेन्डा पार्टीको तर्फबाट अघि सारिएको जानकारी दिनुभयो ।