• २४ पुस २०८१, बुधबार

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २३ गते  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उहाँहरूविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । आर्थिक वर्ष २०७९/८० मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालित कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रममा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

उक्त आयोजनामा नक्कली बिल भर्पाईका आधारमा भुक्तानी दिएको र स्पेसिफिकेसन अनुसारको सामान खरिद नगरेको विषयमा उजुरी परेपछि आयोगले अनुसन्धान गरेको थियो । आयोगले सचिव सिंहसहित मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शङ्करप्रसाद साह, कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल, सहलेखापाल व्रजेशकुमार साह, युवरानी मत्स्य तथा कृषि फार्म प्रालिका सञ्चालक तथा अध्यक्ष लक्ष्मीनारायण यादव, मन्त्रालयका तत्कालीन पशु चिकित्सक रञ्जितकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाशकुमार झा र कृषि विकास निर्देशनालय, धनुषाका तत्कालीन कृषि अर्थविज्ञ विकासकुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले अधिकारी, झा र साहलाई भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरेको छ । भने अन्य पाँच जना प्रतिवादीलाई भने जनही एक करोड रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ ।