• २५ पुस २०८१, बिहिबार

रगत अभाव टार्न रक्तदान कार्यक्रम

blog

डुडुवामा आयोजना गरिएको कार्यक्रममा रक्तदान गर्दै सर्वसाधारण । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, पुस २४ गते ।
जाडोको याममा बाँके जिल्लामा रगतको निकै अभाव हुन थालेपछि सहरी क्षेत्रमा मात्र सीमित नरही गाउँपालिकाहरुमा पनि रक्तदान कार्यक्रमलाई तीव्र पारिएको छ ।

नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रको आग्रहमा जिल्लाका गाउँपालिकाहरुले पनि रक्तदान कार्यक्रम गरेर रगत सङ्कलनमा सहयोग गरिरहेको केन्द्रले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले पश्चिम नेपालका २४ जिल्लाका बिरामीहरु उपचारका लागि नेपालगन्जमा आउने हुँदा अहिले मागभन्दा निकै कम रगत सङ्कलन भइरहेकाले ग्रामीण क्षेत्रमा समेत रक्तदान सुरु गराइएको बताउनुभयो ।

उहाँले त्यसका लागि जिल्लाका सबै पालिकालाई अनुरोध गरिएको जनाउनुभयो ।

सो क्रममा सबैभन्दा पहिले रक्तदानको कार्यक्रम आयोजना गरेको डुडुवा गाउँपालिकामा एकै दिन २११ जनाले रक्तदान गरेपछि २११ पिन्ट रगत सङ्कलन भएको प्रमुख रेग्मीले बताउनुभयो ।

उहाँले रक्तदान कार्यक्रममा रगत दिनेहरुको ठुलो उत्साह देखिएको जनाउँदै गाउँमा सचेतना दिन सकिए अझै धेरै रगत सङ्कलन हुन सक्ने देखिएको बताउनुभयो ।

डुडुवाको रक्तदान कार्यक्रमबाट आफुहरु निकै उत्साहित भएको जनाउँदै यसलाई निरन्तरता दिने योजना बनाइरहेको गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो ।

उहाँले मानवको जिवन रक्षा तथा सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान सुरु गरिएको जनाउँदै मधेशी समुदायमा रगत दिनुपर्ने सचेतना अभिवृद्धिका लागि पनि रक्तदान कार्यक्रम गरिएको बताउनुभयो ।

गाउँ बस्तीमा रक्तदान गर्ने जागरुकता अभिवृद्धिका लागि रक्तदान कार्यक्रमलाई निरन्तरता दिने प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जले जनाएको छ ।

सो रक्तदान कार्यक्रममा १५६औं पटक रक्तदान गर्नुभएका गोपीनाथ वैश्य, १०२ औं पटक रक्तदान गर्नुभएका पवन जायसवाल र ७६औं पटक रक्तदान गर्नुभएका सरिता ज्ञवालीलाई पालिकाले उत्कृष्ट रक्तदाताको रुपमा सम्मानित गर्दै सम्मान पत्र र दोसल्ला प्रदान गरेको थियो ।

त्यस अवसरमा २० पटकभन्दा बढी रक्तदान गर्ने करिब ३० जनालाई सम्मान गरिएको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जले जनाएको छ ।