जयकृष्ण यादव
इनरुवा, पुस २२ गते । सुनसरीको धरान उपमहानगरपालिका ७ बाट ट्रामाडोल ट्याब्लेटसहितका लागुऔषध बोक्ने र कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार मध्यरातमा धरान उपमहानगरपालिका वडा नं.७ स्थित कोशी राजमार्गमा विशेष सूचनाको आधारमा लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ का १८ वर्षीय मुकेश गुप्ता, २२ वर्षीय दिपसन राई, १८ वर्षीय पुजन यादव, सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १९ का २१ वर्षीय रोहित कार्की र सोही ठाउँ बस्ने १९ वर्षीय अनुराग राईलाई पक्राउ गरेको हो ।
यसैगरी, पक्राउ परेकाहरुको झोला चेकजाँच गर्दा झोलाभित्रबाट प्रतिबन्धित औषधी स्पासपेन–३०० ट्याब्लेट र लागुऔषध ट्रामाडोल–३०० ट्याब्लेट भेटिएकाले नियन्त्रणमा लिई अनुसन्धान थालेको हो ।
पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका प्रहरी युनिटहरुको सक्रियामा लागुऔषध ओसारपसार र कारोबारीसमेतलाई पक्राउ गर्ने क्रम बढेको छ ।