• २३ पुस २०८१, मङ्गलबार

बाँकेमा १५१ फिटको शिव प्रतिमा निर्माण

blog

बाँकेको डुडुवा गाउँपालिकाको कार्यालय भवन । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस २२ गते । बाँकेको डुडुवामा देशकै सबैभन्दा अग्लो १५१ फिटको शिव प्रतिमाको निर्माण सुरु गरिएको छ । डुडुवा गाउँपालिका २ स्थित रामनगर पाझामा सो शिव प्रतिमा निमार्ण गर्न वाउण्ड्री वाल निर्माण सुरु गरिएको छ ।

डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले प्रतिमा निर्माणको शिलान्यास गर्दै धेरै पहिलेदेखि शिव प्रतिमा बनाउने योजना रहेकोमा अहिले आएर कार्यान्वयनमा आएको बताउनुभयो । उहाँले जग्गाको अभावमा राप्ती नदी पुल नजिक उक्त योजना असफल भएपछि रामनगर पाझामा रहेको एैलानी जमिनलाई प्रयोगमा ल्याएर धार्मिक पर्यटनको विकास गरिएको बताउनुभयो ।

करिब २७ बिघा जग्गामा बृहत्तर रुपमा पर्यटन क्षेत्रको दीर्घकालीन प्रोजेक्ट सञ्चालन गरी कार्यान्वयनमा ल्याइएको अध्यक्ष चौधरीले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर २ मा पर्यटनको थुप्रै सम्भावना रहेकाले यो परियोजनाले डुडुवालाई चिनाउने वडा नम्बर २ का वडाअध्यक्ष दुर्गाप्रसाद बर्माले बताउनुभयो । 

अध्यक्ष बर्माले थप्नुभयो, "यस वडामा धार्मिक हिसाबले मठ मन्दिर, मस्जिद, झोलुङ्गे पुल, डुडुवा नाला, बगर क्षेत्र, सीमा नाका छ, यसलाई विस्तारै सौन्दर्यकरण गरिनेछ, यसले पर्यटन क्षेत्रमा टेवा पुग्नेछ ।" गाउँपालिकाको क्रमागत योजना अन्तर्गत सो प्रतिमा निर्माणका लागि १ करोड ४ लाख ६१ हजार ६२१ रुपियाँको लागतमा कोहलपुर–११ स्थित दीपक बिल्डर्सले ठेक्का पाएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सुरेन्द्रकुमार बर्माले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्म वाउण्ड्री वाल निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । 

डुडुवा गाउँपालिकाले धार्मिक पर्यटन क्षेत्रको विकासका लागि गाउँपालिका अन्तर्गत विभिन्न स्थानमा पर्यापर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न थालिएको जनाएको छ। पालिकामा रहेका विभिन्न मठ मन्दिर, मस्जिद, चर्चलगायत, बन क्षेत्र, राप्ती नदी तथा डुडुवा नालालगायत स्थानमा विभिन्न पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना अघि सारिएको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो ।