• २३ पुस २०८१, मङ्गलबार

आन्दोलनरत कर्मचारीले हटाए शिक्षण अस्पतालको बोर्ड

blog

मेडिकल कलेजको शिक्षण अस्पतालमा लगाइएको बोर्ड हटाइँदै ।तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, पुस २२ गते । नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीले नेपालगन्जस्थित मेडिकल कलेजको शिक्षण अस्पतालमा लगाइएको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको बोर्ड हटाइदिएका छन् । 

पुस १५ गते त्यहाँ रहेको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्ज लेखिएको बोर्ड हटाएर ‘सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि’ को बोर्ड झुन्ड्याइएको थियो । त्यही बोर्ड आन्दोलनरत कर्मचारीले हटाइदिएका हुन् । उनीहरूले सो संस्था बाँकेमा दर्ता नभएकोले अवैध र गैरकानुनी संस्था रहेको आरोप पनि लगाएका छन् । 

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले नेपालगन्ज मेडिकल कलेजमा स्वास्थ्य सेवालाई प्रभावित नपार्न अन्तरिम आदेश जारी गरेपछि आन्दोलनमा रहेका कर्मचारीले ओपिडी कक्षमा लगाइएको ताला खोलेर आन्दोलनको स्वरूप परिवर्तन गरेर त्यसलाई जारी राखेको घोषणा गरेका छन् । उता सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिले नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । यही माघ मसान्तभित्र आवेदन दिइसक्ने भनेर करिब नौ सय जना कर्मचारीका लागि दरखास्त माग गरिएको छ ।

तीन सय बेडको अस्पताल सञ्चालनका लागि भनेर ती कर्मचारी माग गरिएको छ । श्रम ऐनमा संस्था मर्ज हुँदा स्वामित्व लिने संस्थाले नै कर्मचारीको पनि दायित्व लिनुपर्ने व्यवस्था रहेको छ तर अधिकांश कर्मचारीको नियुक्ति सञ्जीवनी मर्ज भएको नेपालगन्ज हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिका नाममा नभई लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडका नाममा गरिएको छ ।

नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक श्याम शर्माले अब नेपालगन्जमा रहेको नेपालगन्ज मेडिकल कलेजको सेवा कोहलपुर र चिसापानीबाट मात्रै सञ्चालित हुने बताउनुभयो । उहाँका अनुसार नेपालगन्ज मेडिकल कलेजको बोर्ड झुन्ड्याएर नेपालगन्जमा हालसम्म सञ्चालन गरिरहेको स्वास्थ्य केन्द्रको संरचना वास्तवमा नेपालगन्ज मेडिकल कलेजको नभई नेपालगन्ज हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि नामक कम्पनीको थियो ।

शर्माका अनुसार उक्त संरचना प्रालिसँग लिजमा लिएर नेपालगन्ज मेडिकल कलेजले आफ्नो सेवा सञ्चालन गरिरहेको थियो । अब दरखास्त आह्वान गरिएको भनेर सार्वजनिक सूचना अनुसार उक्त संरचनामा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालि नेपालगन्जका लागि नयाँ संस्थाले तीन सय बेडको अस्पताल सञ्चालनमा ल्याउने छ ।