गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २२ गते । विगतमा आफूले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन वटा मुद्दामा पुनरावेदन गरेको छ ।
पुनरावेदन गरिएका मुद्दामध्ये दुई वटा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको विषयसँग सम्बन्धित तथा एउटा कृषि सडक निर्माण कार्यमा झुटा बिल भर्पाईका आधारमा भ्रष्टाचार गरेको विषयसँग सम्बन्धित छन् ।
पहिलो मुद्दामा आयोगले धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख उदयकुमार बरबरिया, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समितिका संयोजक जैशीलाल भिनवार यादव र तत्कालीन सुशासन समितिका संयोजक कन्हैयालाल मुखियालाई प्रतिवादी बनाएको छ । यस मुद्दामा विशेष अदालतले २०८० फाुगन १६ गते फैसला गरेको थियो ।
त्यस्तै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको विषयसँग सम्बन्धित अर्को मुद्दामा आयोगले केशवनन्दन बनियाँ र पङ्कज कान्दुलाई प्रतिवादी बनाएको छ । यस मुद्दामा विशेष अदालतले २०८० पुस २२ गते फैसला गरेको थियो ।
त्यस्तै गैरकानुनी लाभ हानि भ्रष्टाचार गरेको अर्को मुद्दामा आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन प्रमुख विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक, इन्जिनियर अजय यादव र लेखापाल शिवशङ्करप्रसाद कुशवाहालाई प्रतिवादी बनाएको छ ।