• २३ पुस २०८१, मङ्गलबार

सिगासकी उपाध्यक्ष धानालाई आइकन अवार्ड

blog

बैतडी समाचारदाता 

बैतडी, पुस २२ गते  । बैडडी जिल्लाको सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामीले ‘सी लिड्स आइकन अवार्ड’ प्राप्त गर्नुभएको छ ।  उहाँलाई शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड प्रदान गर्नुभएको हो । स्थानीय तहमा प्रभावकारी काम गर्ने विभिन्न पालिकाबाट छानिएका २७ जना महिला जनप्रतिनिधिलाई ‘सी लिड्स आइकन’ सम्मान र तीमध्ये उत्कृष्ट तीन जना महिला जनप्रतिनिधिलाई ‘सी लिड्स आइकन अवार्ड’ प्रदान गरिएको हो । 

नेपाली महिला जनप्रतिनिधिका सुकर्मलाई प्रवर्धन गर्ने उद्देश्यले कल्प एम्पावर वेमेन नेपालले सो कार्यक्रम आयोजना गरेको थियो ।  आइकनका लागि देशभरिबाट १४० जना आवेदकमध्ये २७ जना महिला जनप्रतिनिधि प्रतिस्पर्धामा छानिएका थिए । तीमध्ये २७ जनालाई सम्मान र उत्कृष्ट तीन जनालाई सी लिड्स आइकन अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । 

सुदूरपश्चिम प्रदेशमा ८८ वटा स्थानीय तह छन् । बैतडीमा १० स्थानीय तह छन् । जिल्लाकै दुर्गम गाउँपालिका मानिने सिगासबाट आइकन अवार्डका लागि छनोटमा परेकी धाना धामी २०७९ सालको स्थानीय तहको निर्वाचनमा सिगास गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । स्नातक तहसम्मको अध्ययन गरेकी धामीले समाज सुधारका काम गरेर चर्चा कमाउनुभएको थियो । गाउँका अधिकांश पुरुष रोजगारीका लागि भारत जाने क्रममा धानाका श्रीमान् स्वयं भारतमा काम गर्नुहुन्थ्यो । रोजगारीमा गएका श्रीमान् घर नफर्केसम्म पैसा पठाउने कुनै माध्यम थिएन । यस्तो बाध्यता हटाउन धामीले स्थानीय समाजिक संस्था रुडेस बैतडीको सहयोगमा सिगासको गाँजरीमा रेमिट्यान्स सेवा सञ्चालन गरेर आप्रवासीले भारतबाट सिधै घरमा पैसा पठाउन मिल्ने सुविधाको खोजी गर्नुभयो । 

गाउँमा कुनै बैङ्क नहुँदा धानाले महिला समूह बनाएर सामूहिक बचत गर्ने बानी विकास गर्नुभयो । आज त्यही महिला समूह महिला सहकारीमा परिणत भएको छ । महिला समूहले मदिरा निषेध, घरेलु हिंसा न्यूनीकरण, जातीय विभेद अन्त्य जस्ता सामाजिक काम गरेर चर्चा कमाएको छ । गाउँपालिका उपाध्यक्षमा विजयी भएपछि गाउँपालिकाका सबै वडामा महिला अधिकार मञ्च गठन गरेर सामाज सुधारका काम अघि बढाएको उपाध्यक्ष धामीले बताउनुभयो । आइकन अवार्डले सामाजिक काम गर्ने थप हौसला बढेको उहाँले बताउनुभयो ।