पुष्कर भण्डारी
डडेल्धुरा, पुस २१ गते । परशुराम नगरपालिकाको १५औं राष्ट्रपति रनिङ शिल्डको उपाधि भुवनेश्वरी नमुना मावि परिगाउँले जितेको छ । वडा नं. ५ को रिगाउँ महाकाली नदी किनारमा अवस्थित भुनवेश्वरी नमुना माविले विभिन्न विधाका प्रतियोगितामा २७ स्वर्ण १० रजत र ४ कास्यपदक जिन्दै उपाधि हात पारेको हो ।
उपाधिसँगै भुवनेश्वरी नमुना माविले नगद ३५ हजार रुपियाँ पनि हात पारेको छ । शनिबार सम्पन्न प्रतियोगितामा भागेश्वर मावि कटाल ९ स्वर्ण, २ रजत र ८ कास्यसहित दोस्रो भएको छ । यस्तै ७ स्वर्ण, ३ रजत र १ काँस्य पद जित्दै सिद्धनाथ मावि जयपुर जोगबुडा तेस्रो भएको छ ।
रनिङ शिल्ड प्रतियोगितामा २ स्वर्ण, ६ रजत र ६ कास्यसहित सिताराम मावि कुरमुल्ले चौथो हुँदा २ स्वर्ण, २ रजत र ४ कास्यसहित जनज्योति मावि गाइबाधे पाँचौं स्थानमा छ । २ स्वर्ण, २ रजत र ३ कास्य पदकमा जित्दै सिद्धनाथ मावि चन्दनी छैटौं स्थानमा छ ।
यता भागेश्वर मावि सलौनले १ स्वर्ण, ८ रजत र ३ कास्य पदक जित्दा सातौं स्थानमा छ । आठौं स्थानमा १ स्वर्ण, ६ रजत र ५ कास्यसहित बैजनाथ मावि जमरानी छ । शैलेश्वरी मावि तुलाभाडिले १ स्वर्ण, ५ रजत र २ कास्यपदक हात पारी नवौं स्थानमा छ । १ स्वर्ण, १ रजत र २ कास्यसहित शिवपार्वती मावि पोखरी दशौं स्थानमा छ।
एघारौं स्थानमा कैलपाल मावि बोडाले ३ रजत र ५ कास्य जितेको छ । बाह्रौं स्थानमा २ रजत र २ कास्य जितेको भागेश्वर मावि बशौटी र शिवशङ्कर मावि सादनि छन् । तेह्रौं स्थानमा ३-३ कास्य जित्न सफल भागेश्वर मावि शीर्ष र बैजनाथ मावि सलेता रहेको प्रतियोगिताका संयोजक एवं सामाजिक विकास समिति संयोजक देव बहादुर बोहराले बताउनुभयो । उहाँका अनुसार ग्रिनभ्याली इङ्गलीस बोर्डिक स्कुल जोगबुडा र सिद्धनाथ मावि परशुराम ७ मलासले कुनै विधामा पनि स्थान ल्याउन सकेनन् ।
प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यालयलाई नियमानुसार करकट्टी गरी क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित, शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिएको छ ।
आर्थिक वर्ष २०८१-०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत हरेक वर्ष जस्तै यस वर्ष पनि प्रतियोगिताको आयोजना परशुराम नगरपालिका १२ स्थित परशुराम रङ्गमैदानमा भएको प्रतियोगिताका संयोजक एवं सामाजिक विकास समिति संयोजक बोहराले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा परशुराम नगरपालिकाका सामुदायिक र संस्थागत गरी १७ वटा माविहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताका सबै विधामा १७ विद्यालयका करिब ९ सय बढि छात्र, छात्रा सहभागी भएका थिए ।
बिहीबार सामाजिक विकास समिति संयोजक तथा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संयोजक देवबहादुर बोहराको अध्यक्षता एवं नगर प्रमुख भरत बडायर जोशीको प्रमुख आतिथ्यमा रनिङ शिल्ड प्रतियोगिता उद्घाटन भएको थियो । शनिबार डडेल्धुरा जिल्ला समन्वय समिति सदस्य लीला धामीको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन गरिएको छ ।
शनिबार नै नगरपालिकाले परशुराम नगरपालिकाको आधिकारिक महिला, पुरुष भलिबल र कबड्डी खेलको टिमसमेत घोषणा गरेको छ । प्रतियोगिता अवधिमा विभिन्न विधामा सहभागी उत्कृष्ट खेलाडीलाई ट्रफीद्वारा सम्मान गरिएको थियो ।