तनहुँ समाचारदाता
तनहुँ, पुस २१ गते । लेखनलाई अब्बल बनाउने उद्देश्यले सिर्जनात्मक लेखन प्रशिक्षण कार्यशाला सञ्चालन गरिएको छ । व्यास नगरपालिकाको आर्थिक सहयोगमा गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले जिल्लामा क्रीयाशील साहित्यकारलाई शुक्रबार र शनिबार गरी दुईदिने प्रशिक्षण सञ्चालन गरेको हो । कार्यव्रmमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने भाषा, साहित्य र सम्पदाको संरक्षण, संवर्धनका लागि नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । भाषा र साहित्यको उत्थानका लागि नगरपालिकाले प्रज्ञा प्रतिष्ठान गठन गरेको बताउनुभयो । यस्ता प्रशिक्षणका लागि नगरपालिकाले आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।
व्यास नगर प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा व्यासका अध्यता काशीनाथ न्यौपानेले शास्त्रीय छन्दमा कविता लेख्ने क्रम हराउँदै गएकोमा यस्ता प्रशिक्षण छन्द संरक्षणमा टेवा पुग्ने बताउनुभयो । कार्यशालाका क्रममा प्राडा नेपालले पहिलो दिन सिर्जनाका विविध विधा, कविताका विविध रूप र कविता सिर्जना हुने विविध लयबारे जानकारी प्रस्तुत गर्नुभयो । साथै उहाँले नेपाली कवितामा प्रयोग हुने वार्णिक, मात्रिक, लोक र मुक्त छन्द अनि गजलको बहरबारे सैद्धान्तिक जानकारी प्रस्तुत गरी प्रयोगात्मक कार्यशाला नै सञ्चालन गर्नुभएको थियो । प्रयोगशालामा लोकछन्द अन्तर्गत बालोरी, सवाइ र झ्याउरे, वार्णिक छन्द अन्तर्गत भुजङ्गप्रयात, स्रग्विणी, मालिनी, शिखरिणी, मन्दाव्रmान्ता र शार्दूलविक्रीडित छन्द तथा मुक्त छन्द (गद्य कविता) का विविध शैलीबारे प्रयोगात्मक जानकारी दिइएको थियो । कार्यशालाको दोस्रो दिन नेपालले कथा लेखन र निबन्ध लेखनबारे पनि प्रयोगात्मक जानकारी प्रस्तुत गर्नुभएको थियो । आदिकवि भानुभक्तको जन्मभूमि तनहुँलाई साहित्यमा नेतृत्व दिन सहज बनाउने उद्देश्यले प्रशिक्षण कार्यशाला सञ्चालन गरिएको गण्डकी वाङ्मय प्रतिष्ठानको अध्यक्ष गौकुमारी न्यौपानेले बताउनुभयो ।