• २२ पुस २०८१, सोमबार

६ करोड बढी मूल्यको सामग्री प्रहरी नियन्त्रणमा

blog

प्रहरीले नियन्त्रणमा लिएको सामग्री ।

अमृतप्रसाद पौडेल

म्याग्दी, पुस २० गते । हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाका हुँदै भन्सार छलेर अबैध रुपमा ल्याएको झण्डै सात करोड रुपियाँ बराबरको सामग्री जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको छ । 

शुक्रबार राति ग १ ख ६९९९ नम्बरको ट्रकमा भन्सार प्रज्ञापनपत्र र बिल बिजकबिना अबैध रुपमा सामान ल्याएको हुन सक्ने भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा ६ करोड ८१ लाख २० हजार पाँचसय १० रुपियाँ मूल्य बराबरको सामग्रीसहित ट्रक नियन्त्रणमा लिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । 

तनहुँको म्याग्दे गाउँपालिका ५ का ३५ वर्षिय विष्णुबहादुर थापाले चलाएको उक्त ट्रकलाई घरपझोङ गाउँपालिका ४ जोमसोमनजिक फेला पारी चेकजाँच गर्दा कुनै पनि आधिकारीक कागजातबिना ल्याएको फेलापारेपछि आवश्यक मुचुल्का गरी नियन्त्रणमा लिएको प्रनाउ बोगटीले जानकारी दिनुभयो । 

उहाँका अनुसार गाडीचालक थापा, गाडी मालिक लोमन्थाङ गाउँपालिका ३ फुवाका ४० वर्षिय घ्याचो गुरुङ, सोही गाडीमा रहेका लोमन्थाङ गाउँपालिका ३ का ४१ वर्षिय टसी आङ्गयाल गुरुङलाई कानुनअनुसार नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान र कार्वाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रनाउ बोगटीले जानकारी दिनुभयो ।

सो गाडीमा प्रज्ञापनपत्र भएका दुई वटा सामग्री रहेको थियो । त्यस्तै अन्य विभिन्न ३१ प्रकारका सामानहरु प्रज्ञापनपत्रबिनाका रहेकाले नियन्त्रणमा लिएर राजस्व अनुसन्धानका लागि पठाइएको प्रहरीले जनाएको छ । उक्त ट्रकमा टिस्यु पेपर ३५ कार्टुन र ४५ कार्टुन चियापत्तीको प्रज्ञापनपत्र थियो । 

अन्य ३१ प्रकारका सामग्रीहरु प्रज्ञापनपत्रबिनाका रहेको प्रहरीले जनाएको छ । उक्त ट्रकमा भेप, टिस्यु पेपर, चिया, चाइनिज ब्राण्डी, कम्ब्याड ज्याकेट, बख्खु टोपी, लेडिज स्वीटरलगायतका सामानहरु नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । त्यस्तै, चाइनिज मिठाइ, छुर्पी, बिस्कुट, जाडोका कपडाहरु, सोलार लाइट, कित्ली, वाटर प्रुफ कपडाहरु लगायतका सामान रहेको थियो । 

त्यसैगरी जुत्ता, थुप्पा चाउचाउ, चुइगम एवम् विभिन्न रंग तथा साइजका लेडिज जेन्स जुत्ताहरु पनि नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि पठाइएको प्रहरीले जनाएको छ ।