छविलाल पाण्डे
बुटवल, पुस २० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गुणस्तरीय र सिपयुक्त जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
उहाँले सिपयुक्त जनशक्ति उत्पादनलाई आधार मानेर प्रदेश सरकारले नीति निर्माण गरेको जानकारी दिनुहुँदै उहाँले शैक्षिक गुणस्तर बढाउने विषय सबैको साझा भएको बताउनुभयो ।
उहाँले पुरानो हुँदै गएको शिक्षण सिकाइ क्रियाकलापलाई नयाँ युग अनुसार बदल्न जरुरी रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी वल्ड स्कुलले रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको तेस्रो टिचिङ्ग लर्निङ्ग एक्स्पो २०८१ को उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आधारभूत तहबाटै विद्यार्थीलाई खोज अनुसन्धानको माध्यमबाट शिक्षण सिकाइ गर्नेगरी भूमिका बढाउन जरुरी रहेकोमा जोड दिनुभयो ।
उहाँले अध्ययन, अनुसन्धान अब नयाँ युग अनुसार चल्न र चलाउन जरुरी रहेको छ भन्दै सिपयुक्त जनशक्तिले स्वरोजगार र उद्यमशिलता बढाउने भएकोले सोह अनुसारको दक्ष जनशक्ति उत्पादन आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘युगले खोजेको जनशक्ति अब दक्ष र सिपयुक्त हो ।’’
मुख्यमन्त्री आचार्यले अब पुरानो पद्धतीबाट नभई आधुनिक हिसाबले शिक्षण प्रणालीको विकास गर्न जरुरी रहेकोमा जोड दिनुहुँदै दक्ष, आत्मनिर्भर र सिपयुक्त जनशक्ति उत्पादन तीन तहकै सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘विद्यार्थीको क्षमता अभिवृद्धिलाई केन्द्रमा राखेर विद्यालयहरूले शिक्षण सिकाइ गर्न जरुरी छ ।’’
परम्परागत शिक्षण विधि, परम्परागत कक्षाकोठा होइन, अब प्रविधिले दिएको सुविधालाई उपयोग गरेर सिक्ने र सिकाउने काम अघि बढाउन जरुरी रहेको भन्दै मुख्यमन्त्री आचार्यले बदलिँदो समय र मागको आधारमा सिकाइ गर्ने पद्धती पनि बदलिनुपर्छ भन्नुभयो ।
विद्यार्थीको मनोभावना बुझेर शिक्षण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले हरेक विद्यालयले विद्यार्थीको रुचीको आधारमा अध्ययन, अनुसन्धानको काममा संलग्न गराउनुपर्नेमा जोड दिनुभयो ।
सोही अवसरमा मुख्यमन्त्री आचार्यले टिचिङ्ग लर्निङ्ग एक्स्पोमार्फत् विद्यार्थीले तयार पारेका विज्ञान तथा प्रविधिसँग जोडिएका सामग्री समेत सार्वजनिक गर्नुभएको हो । मुख्यमन्त्री आचार्यले विद्यार्थीको मेहनतको उच्च प्रशंसा गर्दै निरन्तरताको कामना समेत गर्नुभएको थियो ।
विद्यालयले बालबालिकालाई सशक्त बनाउन उनीहरूको शैक्षिक क्षमता र सामाजिक जिम्मेवारी भावनाको विकास गर्नेगरी अध्यापन गराउँदै आएको छ ।