हरि कोइराला
उर्लाबारी, पुस २० गते । शुक्रबार साँझ मोरङको उर्लाबारी चोकमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको उर्लाबारी–५ झुम्राका ४५ वर्षीय नगेन्द्र गुरुङको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।
उर्लाबारी चोकस्थित ट्याक्सी स्टेन्ड छेउमा प्र.१–०२ –०४५ प. २४६० नम्बरको स्कुटर स्टार्ट गर्ने क्रममा अनियन्त्रित भई छेउमा थुपारिएको इँटामा ठोक्किएर दुर्घटना भएको थियो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार घाइते गुरुङलाई तत्काल उद्धार गरी अरनिको अस्पताल पठाइएको थियो । अरनिको अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरस्थित न्यूरो अस्पतालमा रिफर गरिएको थियो । अस्पतालमा उपचारका क्रममा राति ७ः३० बजे तिर गुरुङको मृत्यु भएको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।