• २२ पुस २०८१, सोमबार

सार्वजनिक सुनुवाइमा उपस्थिति न्यून

blog

हुम्ला समाचारदाता

हुम्ला, पुस २० गते । हुम्ला जिल्लाका तीन वटा सरकारी कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीको उपस्थिति न्यून रहेको छ । आर्थिक वर्ष २०८०/८१ देखि हालसम्म ती कार्यालयले सम्पादन गरेका कार्यक्रमबारे सेवाग्राहीलाई जानकारी गराउन आयोजना गरिएको सो कार्यक्रममा सेवाग्राहीको उपस्थिति कम देखिएको हो । 

जिल्लामा प्रशासन कार्यालयले आव २०८०/८१ देखि पुस १५ सम्म सेवाग्राहीका लागि सम्पादन गरिएका कामको लेखाजोखा गर्न आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीको उपस्थिति न्यून रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताउनुभयो । कार्यक्रम जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य सेवा कार्यालय र मालपोत कार्यालयले संयुक्त रूपमा आयोजना गरेका थिए । उहाँले जसका लागि कार्यक्रम आयोजना गरिएको थियो, तिनकै उपस्थिति हुन नसक्नु दुःखको कुरा भएको बताउँदै सेवाग्राहीको उपस्थिति कम भयो भन्दैमा यस्ता कार्यक्रम गर्न छाड्न नहुने बताउनुभयो ।