• २२ पुस २०८१, सोमबार

शास्त्र, सदाचार र आधुनिक विज्ञान

blog

सृष्टिका यावत् संरचनालाई आआफ्नो प्राकृतिक नियम र धर्म अनुसार सापेक्षित रूपमा सक्रिय हुन अवरोध सिर्जना गरियो भने त्यसले विनाश मात्र निम्त्याउँछ । प्रकृति र सृष्टिलाई सन्तुलित बनाइराख्न सबभन्दा महत्वपूर्ण भूमिका मानिसको हुन्छ । सृष्टिको एक मात्र चेतनशील प्राणी मानिस त्यसै कारण नैतिकता, सदाचारी, सहिष्णु तथा संवेदनशील भावनाले प्रेरित हुनु पर्छ । हरेक मानिसले सत्य तथा निष्ठावान् व्यवहार प्रदर्शन गर्नु पर्छ । यस्तो व्यवहार प्रदर्शन गर्न उच्च नैतिकवान् मानिसले मात्र गर्न सक्छन् । नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल आचरण हो, जसले व्यक्तिको व्यवहार तथा क्रियाकलापलाई समाजको हित अनुकूल सञ्चालन गर्छ । सदाचार र नैतिकतामा बाँधिएको मानिस सदा सत्य हुन्छ । हिजोआज सत्य डगमगाएको छ– असत्य, अनैतिक र अनाचारीको बाहुल्य छ । जसको परिणाम सिङ्गो पृथ्वीले भोगिरहेको छ । मानिस अध्यात्मवादी हुनुको साटो चरम भौतिकवादी हुँदै सत्यलाई सम्पत्तिको जलप लगाएर त्यसैको मोहमा परेको छ ।

उपनिषद्मा भनिएको छ– ‘हिरण्मयेनपात्रेण सत्यसापिहतं मुखम्’ अर्थात् सत्यको मुख सुनको पात्रले छोपेको छ । यसलाई पुष्ट गर्ने गरी समाजशास्त्रीले आधुनिक समाजमा उत्पन्न समस्यामा ९९ प्रतिशत अर्थसँग सम्बन्धित हुन्छन् भनेका छन् । यतिबेला के देखिन्छ भने चर्को बोल्ने, विलासी जीवन बिताउने, पुँजी निर्माण गर्नेहरूको बोलवाला रहेको र उनीहरूले प्राप्त गरेको धन, ज्ञान र रहेको विवेक मानव कल्याणका लागि सोच्नै नसक्ने भएको छ । यसले गर्दा मानव समाज मात्र होइन, विश्व ब्रह्माण्ड नै दूषित हुन पुगेको छ । विश्व जलवायु परिवर्तनको मारमा छ । यसका लागि विश्वका सीमित केही औद्योगिक राष्ट्र र तिनका उद्योगी जिम्मेवार छन् भनेर पर्यावरणविद्ले बताइरहेका छन् ।

विश्वमा जुन किसिमका समस्या उत्पन्न भइरहेको छ त्यो शिक्षाको अभावले होइन, बढी जान्ने भएर सदाचार र नैतिकता गुमाउँदाको परिणाम हो । धनी मुलुकले गरिब मुलुकको शिक्षाको विकासका लागि अर्बौं रुपियाँ अनुदान दिन्छन् । यसबाट साक्षरताको सङ्ख्यामा वृद्धि हुन्छ र मानिस चेतनशील, विवेकशील, ज्ञानी–ध्यानी हुन्छ भन्ने मान्यता राख्ने हो भने विश्वमा हरेक वर्ष उच्चशिक्षा प्राप्त परिवारको सङ्ख्या पनि लगातार बढेको छ । शिक्षितहरू बढ्दै जाँदा विश्व भने नयाँनयाँ समस्यामा किन परिरहेको छ त ? 

अहिले धेरै कुरा पाएको मानिसले संवेदनशील भावनात्मक पक्ष र सदाचार गुमाउँदा घरघरमा तनाव र मानसिक असन्तुलनको तीव्र वेगले जीवन र जगत्मा नै उग्रकम्पन सुरु भएको छ । प्रकृति कुपित भएको छ । पर्यावरण क्षतविक्षत भएको छ । जताततै वातावरण खलबलिएर प्रतिकूल परिस्थितिले जीव र जगत् निस्सासिएको छ । धन थुपार्ने मोहमा मानिसले गरेको अमङ्गल सङ्कल्पको परिणामको त्रुटिले मानव मानवजस्तो रहन नसक्ने भयो । भौतिक विलाशी र सुविधामाा मेसिनको दास बन्यो, मानव अधिकारको प्राकृतिक शास्त्रसम्मत अधिकार हनन् भयो । 

एकातिर विश्वभर मानव अधिकारको नारा घन्किरहने, अर्कातिर शस्त्र–अस्त्रको होडवाजी चलिरहने गर्दा हतियारको बजारको विस्तार भयो । मानव–मानवबिचको द्वन्द्व मानव र प्रकृतिबिच सुरु भयो । समस्त जीवन र जगत् नै सन्त्रस्त हुनुपर्ने वातावरण स्वयम् मानवले नै सिर्जना गर्‍यो । भावनात्मक पक्ष र सदाचारी व्यवहार त्याग्दै अस्वस्थ प्रतिस्पर्धाको दौडमा विश्वभर अमानवीय अमङ्गल सङ्कल्प गर्नेको सङ्ख्या बढ्दै गयो । अहिले पनि विश्वमा एक अर्बजति मानिस भोका छन् । अर्बौंलाई क्षणमै मार्न सक्ने घातक हतियार उत्पादन गरेर त्यसको व्यापारमा रमाउने दुई चार विकसित देशका दुई चार सय मानिससँग अथाह विश्वको सम्पदा एकाधिकारमा छ । बहुजनको हितमा जनताका नाममा सपना बाँडेर विपनामा केही सम्भ्रान्त घरानिया र केही मुलुकका राजनेता वा सिद्धान्तकारले विश्वलाई अभिशप्त बनाएर अर्बौं मानिस, चराचर जगत् र ब्रह्माण्डकै अस्तित्वमाथि प्रश्न उठ्ने कार्य भइरहेको छ । 

यसका लागि विश्वविद्यालयका उच्चस्तरका डिग्री भिरेका डाक्टरको पुच्छर गाँसेर विद्यावारिधि गरी कथित विद्वताको कवच भिरेका प्रायः सबै जना विश्वको बिगँरदो अवस्थाका निमित्त पूर्णरूपेण जिम्मेवार छन् । 

भगवत् गीताको यस्तै सन्देश छ– पसिना बगाएर कमाउनु, जीवनयापन गर्दा यज्ञकै रूपमा सबै कर्म निष्काम भावले गर्नु । यज्ञको प्रक्रियामा द्रव्ययज्ञभन्दा ज्ञानयज्ञको अझ ठुलो महत्व छ । पत्र, पुष्प, फल र पानी भक्तिले समर्पण गरे हुन्छ । त्यहाँ द्रव्य तथा अन्य भौतिक पदार्थ गौण छन् । यज्ञको यो प्रक्रियासँग कर्मको विभाजन पनि भएको छ । स्वभावतः वर्णाश्रम धर्ममा रहँदा त्यै कर्मको विभाजन अनुरूप कर्म गरे पनि उचनीचको भेदभावबिना कर्मद्वारा नै स्वतः सिद्धि प्राप्त हुन्छ । भगवत् गीताले यसै भन्छ । अहिले पसिना बगाएर कमाउन कोही उत्सुक छैन । रातारात धनी बन्न छलछाम र ढाट अनि डर–धाक, धम्कीले सम्पत्ति कमाउने प्रतिस्पर्धा चलेको छ । नेपालमा मात्र होइन विश्वमै यही रीत बसेको छ । अरूको त कुरै छाँडौ पूर्वीय सभ्यता र संस्कृतिको स्रोतकेन्द्र नै यसरी लथालिङ्ग भएको छ । नैतिकता र उच्च संस्कारयुक्त सामाजिक मर्यादाको कुनै मूल्य र महत्व रहेन । नैतिक रूपमा पतनै भएर धन कमाउने र अरूको डाहा गर्ने प्रवृत्ति हाबी छ । 

यस्तै प्रवृत्ति आजभोलि सामाजिक प्रतिष्ठा र सफलताको प्रतीक मानिन्छ । आफ्नो संस्कार, संस्कृति, धर्म, सभ्यता, वंशाणुगत जातीय विशेषताबाट सबै सबै नै पतन हुँदै अहम्कारी, दुराचारी बन्दै अनैतिक काममा बढी केन्द्रित हुने र आफूलाई अरूभन्दा फरक देखाउन, सभ्य र सम्पन्न बनाउन जस्तोसुकै अनैतिक काम गर्न पछि नपर्नेबाटै समाज भाँडिएको छ । धनी र गरिबबिचका खाडल झन् फराकिलो र गहिरो बन्दै जानुको कारण जिम्मेवारीमा रहेकाहरूमा हराउँदै गएको नैतिकता, संवेदनशील भावना र सदाचारको अभाव नै हो ।

नेपालको मात्र होइन, विश्वभर यस्तै छ । विकसित देशका बहुराष्ट्रिय कम्पनी घातक हतियार उत्पादन गरेर युद्ध भड्काउँदै आफ्ना हतियारको व्यापार बढाउँछन् । खै मानवीय संवेदनशील भावना ? पैसाका लागि युद्ध गराउने अनि त्यो युद्धका लागि स्वतन्त्रता, मानव अधिकारको नारा घन्काउने ? योभन्दा ठुलो विडम्बना अरू के हुन्छ । हामी यस्तै प्रवृत्तिको सिकार हुँदै उनीहरूकै पछि लागेर, उनीहरूले घोकाइदिएको नारा भट्याउँदै आफ्नोपन भुलेर अन्धानुसरण गरिरहेका छौँ, जसले हाम्रो शिक्षा, व्यवहार, संस्कार सबै ध्वस्त प्रायः को अवस्थामा पुगेको छ ।

किताब नपढेका भए पनि हाम्रा हजुरबा हजुरआमा ज्ञानी थिए, विवेकी थिए, संस्कारी र सदाचारी थिए (अपवादबाहेक) यसको कारण संस्कार र अभ्यासमा चल्दै आएको शिक्षा पद्धति थियो । जसलाई पुस्ता शिक्षा भन्न सकिन्छ । यो शिक्षा भनेको पुस्तान्तरण हो । यहाँ कुनै निश्चित पाठ्यक्रम अनुरूप पठनपाठन हुँदैन । यो परम्परा परिवार, समाजभित्र स्वतः विकसित थियो । अक्षरारम्भ गरेर घर,  पुस्ता, चौतारा, पाटीपौवामै अनौपचारिक गतिविधिबाटै वाचक चलाउने, लिपि बसाउने र विषयवस्तु स्फुरण भए नभएको, रुचि जागृत कति कसरी भयो इत्यादि गतिविधि स्वयम् बोध गर्ने र अगाडि बढ्न प्रेरित हुने वातावरण तयार हुन्थ्यो । यसरी नै खनजोतलगायतका कृषिकर्म, बिउबिजन, गोडमेल र वस्तु विशेषको जान पहिचान, उपचार र रेखदेखलगायतका साधारण ज्ञान समयको गतिसँगै स्वतः थपिँदै जाने र स्थलगत अनुभवबाटै कुशल गृहस्थको जग बसाउने यो शिक्षाले आत्मनिर्भर बनाउँदै स्वाभिमानी, नैतिकवान, चरित्रवान् र निर्भिक, निष्पक्ष, विवेक, ज्ञानसमेत जागृत गराउन सम्भव हुन्थ्यो । आफूले शिक्षा प्रदान गरिरहेको पात्रलाई कर्मठ, सुपात्र बनाउन उसले खानपान, रहनसहन, आचार विचारमा बढी ध्यान दिएर आत्मबल, चरित्रबल, नैतिकता तथा इच्छाशक्ति, क्रियाशक्ति, ज्ञानशक्ति प्रबल पार्न  पुस्ता शिक्षादाता सचेष्ट रहन्थे ।

घरमा नातिनातिनालाई पढाउने हजुबा–हजुरआमा किताबभन्दा कुशलता, संस्कार, नैतिकता, मानवीय संवेदनशील भावनाका साथै गर्न हुने र नहुने सबै कुरा सिकाउँथे । वातावरण संरक्षणका विविध पक्षलाई, समाज हितका अनेक आयामलाई उनीहरू परम्परागत अभ्यास र ज्ञानलाई पुस्तान्तरण गर्दथे । पानीढलो मास्नु हुन्न, बाटो, चौतारो, मन्दिर, खोला किनार अतिक्रमण गर्नु हुन्न, वनजङ्गल मास्नु हुन्न भन्दै सचेत गराउँथे । वातावरण शुद्ध राख्न र प्राकृतिक सन्तुलनन कायम गराउन अनेक धार्मिक विधि अनुष्ठान सिकाउँदै प्रकृति संरक्षणका लागि हरेक पक्षमा ईश्वरको अंश हुन्छ भन्दै तिनको पूजा गरेर संरक्षण गर्ने संस्कार सिकाउँथे । 

यस्तो पद्धति र अयासको अन्तर्निहित उद्देश्य शिक्षा दिने पात्रलाई सर्वाङ्गीण विकासपथमा प्रेरित गर्ने उद्देश्यमा आधारित हुन्थे । विकासको अर्थ अहिलेको जस्तो केवल भौतिकता मात्र थिएन । भौतिक वस्तु र सेवा समय क्रमसँगै प्राप्त हुने विषय रहेकाले शास्त्रसम्मत विकासको ढाँचा कायम राख्दै अघि बढ्न दिइने शिक्षाकै कारण कुनै विश्वविद्यालयको ढोकै नटेकेका इतिहास पुरुष कहलिन सफल भए । आदिकवि भानुभक्त आचार्य हुन् वा चीनमा बलबाहुका नामले प्रख्यात वास्तुकलाविद् अरनि हुन्, उनीहरू आफूलाई कालजयी बनाउन सफल भए । 

अरनिकोले चीनमा कमाएको ख्यातिले के देखाउँछ भने युरोपतिर औद्योगिक क्रान्ति हुनुभन्दा अगावै आठ सय वर्ष अगाडि नेपाली धातुकर्मी, मूर्तिकारले वास्तुकलामा उच्चतम प्राविधिक ज्ञान हासिल गरिसकेका थिए भन्ने प्रमाण हो । यो ज्ञान कुनै विश्वविद्यालयबाट होइन, पितापुर्खाबाट शास्त्रसम्मत प्राप्त भएको हो । उनीहरूले प्राप्त गरेको  पुस्ता शिक्षाको प्रभाव थियो । यो सन्दर्भ उठाउनुको कारण उतिबेलाको शिक्षा र ज्ञानको क्षेत्र कस्तो थियो भन्नका लागि मात्र हो । आज पनि नेपाली जनताले आदरपूर्वक स्मरण गर्ने उनीहरूको ज्ञानको स्रोत शास्त्रसम्मत शिक्षाको आधार थियो ।

निष्कर्ष

शास्त्र र शस्त्रबिच चर्को द्वन्द्व मच्चिइरहेको वर्तमान सन्दर्भमा विश्वकै सर्वाधिक धनी वैज्ञानिक इलन मस्कले नेपालको तन्त्रविद्यालाई समेटेर आर्टिफिसियल इन्टिेलिजेन्स (एआई) विकास गर्न लागेको चर्चा छ । यो चर्चाले शास्त्रले शस्त्रलाई पछि छाड्दै अब पूर्वीय ज्ञानको सागरमा पश्चिमा वैज्ञानिक डुबुल्की मारेर आफ्नो समृद्धिको भ¥याङको खुड्किला अरू थप्ने मेसोमा रहेका त होइनन् भन्ने चासो बढेको छ । यस्तोमा हामी सबैले बुझ्नुपर्ने विषय हाम्रो संस्कार, संस्कृति, सभ्यता, शिक्षाको आधारमा रहेको संवेदनशील भावना, सदाचार, नैतिकता र धर्मसम्मत कर्मको महानता र महत्व नै हो । 

   

Author

यादव देवकोटा