सर्लाही समाचारदाता
सर्लाही, पुस २० गते । तरुलको व्यावसायिक खेती हुने सर्लाहीको बागमतीमा धमाधम तरुल खन्न सुरु गरिएको छ ।
माघेसङ्क्रान्ति नजिकिएसँगै तरुल खन्ने चटारो परेको हो । किसानले व्यापारीलाई केही समयअघि खेतबाटै एकमुष्ट बिक्री गरिसकेको तरुल व्यापारीले अहिले मजदुर लगाएर धमाधम खन्ने काम गरिरहेका हुन् ।
यहाँको तरुल मुख्य गरी काठमाडौँ लगेर बेच्ने गरिएको छ । सर्लाहीमा यस वर्ष बागमती नगरपालिकाको टेकानीस्थित बागमती खोलाको नदी उकास जमिन भएको फाँटमा मात्रै तरुलको व्यावसायिक खेती भएको छ । अन्यत्र कतैकतै मात्रै तरुल रोपिएको छ ।
माघेसङ्क्रान्तिमा फलहारका रूपमा प्रयोग हुने तरुलको प्रशस्त खेती हुने बागमती नगरपालिकाको सोल्टी, जिरायत, कर्मैया, राजघाटलगायत क्षेत्रमा तरुल खेती हुने जग्गामा हाइब्रिड मकैको खेती गरिएको छ ।
सिँचाइको सुविधा नरहेको टेकानीको नदी उकास जमिनको बलौटे माटोमा भने किसानले तरुल खेती गर्ने गरेका छन् । किसानसँग सानो बोट हुँदै एकमुष्टमा खरिद गरेको तरुल अहिले धमाधम खनेर काठमाडौँका बजारमा लगेर बिक्री गरिरहेको व्यापारी हृदय महराले जानकारी दिनुभयो । महराका अनुसार तरुल प्रतिकेजी ६० रुपियाँसम्ममा बिक्री भइरहेको छ ।
मजदुर लगाएर दिनभर खनेको तरुल व्यापारीले गाडीमा लोड गरेर राति काठमाडौँ पु¥याउने गरेका छन् । सर्लाहीमा उत्पादन भएको तरुल स्वादिलो हुने भन्दै उपभोक्ताले असाध्यै रुचाउने गरेका व्यापारीको भनाइ छ । बागमती नगरपालिका–५, टेकानीका किसान हितबहादुर मगरले सात कट्ठा नदी उकास जग्गामा लगाएको तरुल बिक्री गरिसकेको जानकारी दिनुभयो ।
यस वर्ष गत असोजमा ठुलो बाढी आएर तरुलको बोट नै पुरेपछि कतिपय किसानले तरुल मासेर तोरी, मकैलगायतका अन्य बाली रोपेका मगरले बताउनुभयो । उहाँका अनुसार यो वर्ष बागमती क्षेत्रमा तरुलको खेती घटेको छ । तरुल खेती लगाएपछि अन्य बालीमा जस्तो स्याहार गर्नु नपरे पनि खन्ने बेला मजदुर नपाउने समस्याले धेरैले तरुलको खेती छाड्दै गएका छन् ।