• २१ पुस २०८१, आइतबार

जय ट्रफीका लागि जनकपुरमा मैदान तयारी अन्तिम चरणमा

blog

जय ट्रफीका लागि जनकपुरस्थित रामजानकी खेल मैदान तयार गरिँदै। तस्बिरः विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, पुस १९ गते।  नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा टेस्ट संरचनामा हुन लागेको जय ट्रफी क्रिकेट प्रतियोगिताका लागि जनकपुरको खेल मैदान तयारीको काम लगभग अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगञ्जमा दुई दिवसीय जय ट्रफी क्रिकेट प्रतियोगिता हुँदैछ। प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कपका शीर्ष चार स्थानमा रहेका टिमको सहभागिता रहनेछ। मधेश प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस क्बल र त्रिभुवन आर्मी क्बलले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। 

क्यानका मधेश प्रदेश अध्यक्ष सुनिल महासेठले जय ट्रफीका लागि जनकपुरको रजौलस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय रङ्गशाला र वीरगन्जको नारायणी खेल मैदान तयारीको काम अन्तिम चरणमा पुगेको बताउनुभयो। जय ट्रफीको उद्घाटन जनकपुरमा र समापन वीरगञ्ज गरिने उहाँले जानकारी दिनुभयो। 

उहाँका अनुसार पिच र मैदानको काम लगभग सकिएको छ। प्याराफिट र पेभेलियन बनाउने लगायतका काम भइरहेको छ। प्रतियोगिताअन्तर्गत तीन खेल जनकपुरमा हुनेछ। लिग चरणका खेल दुई दिवसीय र फाइन तीन दिवसीयको हुने अध्यक्ष महासेठले बताउनुभयो।  

जिल्ला क्रिकेट सङ्घ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले जय ट्रफीका लागि रामजानकी रङ्शालाको मैदानलाई स्तरोन्नति गरिएको बताउनुभयो। उहाँले स्तरोन्नति गर्ने काम तीन महिनादेखि भइरहेको जानकारी दिनुभयो। 


जनकपुरमा पहिलो खेल मधेश र बागमती प्रदेशबिच हुनेछ। दोस्रो खेल बागमती र आर्मी तथा तेस्रो खेल बागमती र पुलिस क्लबबिच हुनेछ। त्यस्तै, वीरगन्जमा पहिलो खेल आर्मी र पुलिस, दोस्रो खेल मधेश र पुलिस तथा तेस्रो खेल मधेश र आर्मीबिच हुनेछ। खेलाडीलाई दक्ष बनाउन र प्रतिस्पर्धामा ल्याउन नेपालमा जय ट्रफीअन्तर्गत टेस्ट संरचनामा यो प्रतियोगिता हुन लागेको हो। रातो बल र सेतो पोसाकमा खेलिने जय ट्रफी ५० ओभरको हुनेछ।