• २१ पुस २०८१, आइतबार

हटाउन थालियो सडक अतिक्रमण

blog

तिला गाउँपालिका–३ को कुडारीमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा । तस्बिर : नेत्र शाही

जुम्ला समाचारदाता

जुम्ला, पुस १९ गते । कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको तिला गाउँपालिकास्थित कुडारी, त्रिवेणी बजारमा सडक अतिक्रमण हटाउन थालिएको छ । त्यहाँ सडक अतिक्रमण हटाउन लामो समयदेखि स्थानीयले हस्ताक्षर गरेर पहल थालेका छन् । 

अतिक्रमण गरी बनाइएका घरटहरा तथा निर्माण सामग्री हटाउन र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तिला गाउँपालिका र सडक डिभिजन जुम्लाले चासो लिए पनि ढिलाइ भइरहेको छ । रारासेरी बजारमा भने केही टहरा हटाइएका छन् । सडक अतिक्रमणका विषयमा विभिन्न समयमा तिला गाउँपालिका र वडा कार्यालयबाट जारी गरिएका सूचना केवल सूचना टाँसमै सीमित रहेको स्थानीयवासी बताउँछन् । स्थानीय भरतराज गिरीका अनुसार यसभन्दा अघिल्लो सरकार हुँदा पनि सडक अतिक्रमण हटाउन सूचना जारी भएको र उक्त सूचनालाई कार्यान्वयन गर्न स्थानीय सरकार र सडक डिभिजन जुम्लाले पनि गर्न सकेका थिएनन् । 

तिला गाउँपालिका–३ निवासी ज्वारीलाल भट्टराईले आफ्नो निर्णय कार्यान्वयन गर्न पटक पटक बजारवासीले नगरपालिका र सडक डिभिजन जुम्लालाई आग्रह गर्दा पनि ती कार्यालयले एकले अर्कालाई दोषारोपण गर्दै पन्छने गरेको बताउनुहुन्छ । समयमै अव्यवस्थित घरटहरा नहटाइँदा र तिला–३ कै खाडेखोलामा पुल निर्माण हुन नसक्दा बेला बेलामा दुर्घटना हुने गरेको छ । गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार अतिक्रमण हटाउने विषय प्राथमिकताका साथ राखेको बताउनुभयो ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार सो क्षेत्रमा सडक अतिक्रमण हटाउन स्थानीय तहलाई पत्राचार भइसकेको छ । उहाँले सडकका टहरा हटाउन पटक पटक नागरिकले नै माग गर्दै आएको बताउँदै अब कार्यालयले हटाउने जानकारी दिनुभयो ।