• २१ पुस २०८१, आइतबार

औषधी खरिद गर्न तीन करोड

blog

सुर्खेतस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, पुस १९ गते । प्रदेश सरकारले औषधी खरिदका लागि तीन करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा औषधी खरिदका लागि आवश्यक बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले ४१ प्रकारका औषधी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत खरिद गर्दै आएको छ ।

बर्सेनि बजेट विनियोजन गरेर आफ्नो दायित्वमा पर्ने औषधी खरिद गर्ने गरिएको हो । आपूर्ति व्यवस्थापन केन्द्रले खोप तथा खोपजन्य सामग्री प्रदेशका १० वटै जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई उपलब्ध गराउँदै आएको छ । गत वर्षको औषधी खपतको अवस्था र यो वर्षको मागका आधारमा औषधी खरिद गर्ने गरिएको केन्द्रले जनाएको छ । चालु आवमा औषधी खरिदका लागि प्रदेश सरकारले तीन करोड बजेट विनियोजन गरेको प्रदेश आपूर्ति केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीले बताउनुभयो । 

यो वर्ष औषधी खरिदका लागि बोलपत्र आह्वान गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै यो वर्ष सङ्घीय सरकारले एक करोड ८० लाख ५० हजार बजेट आपूर्ति केन्द्रमा पठाएको छ । गत वर्षमा पनि सङ्घीय सरकारले सोही हाराहारीमा बजेट विनियोजन गरेको थियो ।

जिल्ला जिल्लाबाट माग भएको औषधीको विवरणका आधारमा खरिद प्रक्रिया सुरु गरिने केन्द्रले जनाएको छ । केन्द्रले टेन्डरमार्फत औषधी खरिद गर्ने गरेको छ । आपूर्ति व्यवस्थापन केन्द्रले जिल्ला स्वास्थ्य सेवा कार्यालयहरूमा खरिद गरिएको औषधी पठाउने गरेको छ । जिल्लास्थित ती कार्यालयले पालिका र पालिकाले सम्बन्धित स्वास्थ्य केन्द्रमा औषधी उपलब्ध गराउँदै आएका छन् । तीन तहका सरकारले ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्दै आएका छन् । तीन तहका सरकारले छुट्टाछुट्टै रूपमा खरिद ऐनमा रहेर औषधी खरिद गर्ने गरेका छन् । सोही अनुरूप पालिका र प्रदेशलाई सङ्घीय सरकारले बजेट पठाउने गरेको छ । केही स्थानीय सरकारले आफूले समेत बजेट विनियोजन गरेर औषधी खरिद गर्ने गरेका छन् ।

भाडाको घरमा आपूर्ति केन्द्र 

भवन निर्माणमा ढिलाइ हुँदा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र भाडाको घरबाट सञ्चालन भइरहेको छ । मासिक ४० हजार रुपियाँ तिरेर भाडाको घरबाट आपूर्ति केन्द्र सञ्चालन भइरहेको हो । भवन नभएकै कारण आपूर्ति केन्द्रको औषधी नेपालगन्जमा भण्डारण गर्ने गरिएको प्रदेश औषधी आपूर्ति केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीले जानकारी दिनुभयो । भाडाको घर भएकाले आवश्यक उपकरण र औषधी भण्डारण गर्न समस्या हुने गरेको उहाँले बताउनुभयो । औषधी भण्डारका लागि ठाउँ नहुँदा जिल्लाबाट माग भएका र तत्काल जिल्लामा पठाउनुपर्ने औषधी मात्र केन्द्रमा ल्याउने गरिएको छ । नयाँ भवन बने औषधी भण्डारण गर्न सहज हुने उहाँको भनाइ छ । पटक पटक म्याद थपिएको भए पनि भवन निर्माण कार्यमा ढिलाइ भइरहेको छ ।

कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माण कार्य पनि अधुरै छ । उक्त भवनको पटक पटक म्याद थप गरिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । पछिल्लो पटक २०८० कात्तिक १ गतेदेखि २०८१ चैतसम्म म्याद थपिएको कार्यालयका इन्जिनियर पूर्ण शर्माले बताउनुभयो । यसअघि सम्झौता अनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै सकिएको छैन । हालसम्म भवन निर्माणको ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । जगदम्बा शिवालय सुपरस्टार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो । सम्झौता अनुसारको अवधिमा काम नसकिएपछि पुनः म्याद थप गरेर काम भइरहेको जनाइएको छ ।