• २१ पुस २०८१, आइतबार

विद्यालय आसपासका व्यावसायिक क्षेत्रको अनुगमन

blog

टीकापुर समाचारदाता

टीकापुर, पुस १९ गते  । कैलालीको टीकापुर नगरपालिकाको बजार क्षेत्रका विद्यालय वरपर रहेका पसलमा चुरोट, सुर्ती र मदिराको बिक्रीवितरण भइरहेको पाइएको छ । टीकापुर नगरपालिकाले १५ वटा विद्यालयमा गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो । 

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ११ र जनस्वास्थ्य ऐन, २०७५ बमोजिम विद्यालयको एक सय मिटर वरपर सुर्ती, चुरोट, मदिराको बिक्री गर्न नहुने व्यवस्था छ ।

संस्थासँगै जोडिएका व्यक्ति विद्यालयका अध्यक्षले नै नजिकै पसलमा चुरोट, सुर्ती, पत्रु खाना बेच्ने गरेको पनि पाइएको छ भने अन्य व्यवसायीले पनि विद्यालयको गेटमै पसल राखेको र सुर्ती, चुरोट बेच्ने गरेको पाइएको छ । “टीकापुर नगरपालिकाले २०८१ साउनमा विद्यालय परिसरनजिक सुर्ती, चुरोट, मदिराको व्यापार नगर्न सार्वजनिक सूचना गरेको र स्थलगत अनुगमन गर्दा कार्यान्वयन भएको  देखिएन,” नगरपालिकाका निरीक्षण अधिकृत रञ्जु आचार्यले भन्नुभयो, “भारतीय उत्पादन र सु्र्तीजन्य गुट्खा नष्ट गरिएको छ, चुरोट बिक्रीवितरण नगर्न र डिलरलाई फिर्ता गर्न निर्देशन दिएका छौँ अर्को पटकको अनुगमनमा फेरि भेटिए कारबाही गरिने छ ।”

विद्यालय वरिपरि पसल भएपछि विद्यालय हाताभित्र, विद्यालयका शौचालयमा सुर्ती, गुट्खाका खोल यत्रतत्र फालिएको अवस्थामा भेटिएका छन् ।  केही विद्यालयले आफ्नै हातामा क्यान्टिन चलाएका छन्, बाहिर जान नदिने र क्यान्टिनमा पनि स्वस्थ खाने कुरा राखेको पाइएको छ भने सरकारी विद्यालयमा शौचालय प्रशस्त भए पनि सरसफाइ नभएको, अपाङ्गमैत्री नभएको, विद्यालयभित्रै पत्रु खाना भेटिएकाले सुधार गर्न भनिएको नगरपालिकाका खानेपानी, सरसफाइ तथा स्वच्छता फोकल पर्सन जनस्वास्थ्य निरीक्षक कमलबहादुर रावलले बताउनुभयो ।