• २१ पुस २०८१, आइतबार

स्वास्थ्य बिमा गराउने बढ्दै

blog

दार्चुलास्थित स्वास्थ्य बिमा बोर्डको कार्यालय ।

दार्चुला समाचारदाता

दार्चुला, पुस १९ गते । दार्चुलामा स्वास्थ्य बिमा गराउने नागरिकको सङ्ख्यामा वृद्धि भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरेर स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ दार्चुलामा २०७५ फागुन २९ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको थियो । 

दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलामा हालसम्म करिब १७ हजारको स्वास्थ्य बिमा गरिएको स्वास्थ्य बिमा बोर्ड दार्चुलाका संयोजक दीपकसिंह क्षेत्रीले जानकारी दिनुभयो ।

स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गर्नका लागि सरकारले सुरु गरेको बिमा कार्यक्रममा दार्चुलाका नागरिकको पहुँच बढ्दै गएको छ, उहाँले भन्नुभयो, “हालसम्म १६ हजार ९९१ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।” 

दार्चुलामा आठ हजार ४४ जना महिला र आठ हजार ९४७ जना पुरुष गरेर १६ हजार ९९१ जनाले स्वास्थ्य बिमा गराएको उहाँले बताउनुभयो । नौ वटा स्थानीय तहमध्ये महाकाली नगरपालिकामा सबैभन्दा बढी नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् भने सबैभन्दा कम अपिहिमाल गाउँपालिकामा रहेका छन् । 

महाकाली नगरपालिकामा एक हजार ७२४ पुरुष र एक हजार ८०७ जना महिलाले स्वास्थ्य बिमा गराएका छन् । शैल्यशिखर नगरपालिकामा एक हजार ३३६ पुरुष र एक हजार ३७१ जना महिला, दुहुँ गाउँपालिकामा एक हजार २०६ जना पुरुष र एक हजार २९९ जना महिला, व्यास गाउँपालिकामा एक हजार १०२ पुरुष र एक हजार १८२ महिलाले स्वास्थ्य बिमा गराएका छन् । नौगाड गाउँपालिकामा ९४१ पुरुष र ९०१ जना महिला, मालिकार्जुन गाउँपालिकामा ७७८ पुरुष र ७६६ महिला, लेकम गाउँपालिकामा ६९८ पुरुष र ७१० महिला, मार्मा गाउँपालिकामा ५८४ पुरुष र ६२६ महिला र अपिहिमाल गाउँपालिकामा सबैभन्दा कम ५७५ पुरुष र २८५ महिला स्वास्थ्य बिमामा आबद्ध भएको उहाँले बताउनुभयो । 

सरकारले हाल ७० वर्षमाथिका ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, जटिल खालका क्षयरोगी, ‘क’ वर्गको अपाङ्गता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गरिदिने गरेको छ । धेरैजसो जिल्लामा स्थानीय तहले ‘क’ वर्गबाहेकका अन्य अपाङ्गता भएका व्यक्तिको हकमा स्वास्थ्य बिमा गरिरहेको तर दार्चुलामा त्यस्तो हुन नसकेको उहाँले बताउनुभयो । दार्चुलामा हाल जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालबाट स्वास्थ्य बिमा गराएका नागरिकले स्वास्थ्य सेवा पाउने गरेका छन् ।