• २१ पुस २०८१, आइतबार

प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष र सदस्यको नियुक्ति

blog

शपथ ग्रहण पछि प्रदेश सरकारका मुख्यमन्त्री , मन्त्री सहित अतिथिहरूसँग नव नियुक्त उपाध्यक्ष र सदस्यहरू । तस्बिर: भावना जोशी

भावना जोशी 

अत्तरिया,  पुस १९ गते । प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिममा उपाध्यक्ष र सदस्यको नियुक्ति  गरिएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष र दुई जना सदस्यलाई पद रिक्त भएको  पाँच महिना पछि नियुक्त गरेको हो  । 

मन्त्रिपरिषद् बैठकले डा. जीवन रानालाई उपाध्यक्षमा नियुक्त गरेको छ ।   राना  नेपाली काँग्रेसकी केन्द्रीय सदस्य  तथा बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग प्रमुख  हुनुहुन्छ । कैलालीको धनगढी उपमहानगरपालिका–८ की रानाले विद्यावारिधि  गर्नु भएको छ भने   नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गर्नु  भएको छ । यस्तै बिहीबारको प्रदेश मन्त्रिपरिषद् बैठकले सदस्यमा डाक्टर हिरा चन्द र शेरबहादुर भण्डारीलाई  नियुक्त गरेको छ । भण्डारी काँग्रेस डडेलधुराका सचिव  हुन् भने चन्द एमाले सुदूरपश्चिममा पूर्व प्रदेश कमिटी सदस्य हुन् । 

उपाध्यक्ष रानालाई सुदूर पश्चिम प्रदेशका  मुख्यमन्त्री कमल बहादुर शाहले  पद तथा गोपनीयताको शपथ  गराउनु भएको थियो । सदस्य डा. चन्द र भण्डारीलाई  उपाध्यक्ष रानाले शपथ ग्रहण गराउनु भएको थियो । शपथ ग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले योजना आयोगको गठनादेशमा केही  संशोधन गर्नु पर्ने भएकोले नियुक्तिमा केही महिना ढिलो भएको बताउनु भयो ।  नयाँ सरकार गठन भएपछि श्रावण महिना देखि सरकारले छलफल गर्ने सकेको थिएन अव प्रदेशको योजना तर्जुमा  लगायतका विषयमा छलफल अगाडि बढ्ने उहाँले बताउनु भयो ।   

शाहले भन्नुभयो “सुदूर पश्चिमको जनताको चाहना अनुसारका योजना निर्माण लगायतमा प्रदेश सरकारलाई सहयोग गर्ने कुरामा आफू विश्वस्त रहेको  छु ” ।  नव नियुक्त उपाध्यक्ष रानाले आफू प्रदेश सरकारसँगै  सुन्दर सुदूरपश्चिम बनाउने काममा हातेमालो गर्ने बताउनुभयो । शपथ ग्रहण कार्यक्रममा प्रदेश सरकारका निवर्तमान मुख्य मन्त्री राजेन्द्र रावल , प्रदेश सरकारका मन्त्रीहरूको सहभागिता रहेको थियो । 

सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी नेतृत्वको सरकार ढलेपछि उपाध्यक्षबाट गणेशबहादुर विश्वकर्माले राजीनामा दिएसँगै  पाँच महिना देखि उक्त पद रिक्त  रहेको थियो ।