गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १९ गते । अमेरिकाको क्यालिफोर्नियास्थित सनफ्रान्सिस्कोमा ‘फर्स्ट गोल्डेन चलचित्र अवार्ड–२०२४’ सम्पन्न भएको छ । कार्यक्रममा अभिनेता शिव श्रेष्ठलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । ‘फर्की फर्की’ चलचित्रबाट अनमोल केसीले उत्कृष्ट अभिनेताको अवार्ड जित्नुभयो भने भने ‘डिग्री माइला’ बाट आँचल शर्माले उत्कृष्ट अभिनेतृको अवार्ड हात पार्नुभयो । उत्कृष्ट चलचित्रको अवार्ड ‘पुजार सार्की’ ले जित्यो भने निर्देशकको अवार्ड यही चलचित्रबाट दिनेश राउतले पाउनुभयो । ‘पपुलर’ अभिनेताको अवार्ड प्रदीप खड्काले र ‘पपुलर’ अभिनेतृको अवार्ड केकी अधिकारीले पाउनु भयो ।
चलचित्र ‘नाङ्गो गाउँ’ बाट दीपेन्द्र लामाले उत्कृष्ट लेखक र आलोक शुक्लाले उत्कृष्ट छायाकारको अवार्ड पाउनुभयो । यसै चलचित्रको गीत ‘सुनसुन सुन्दरी’ गीतबाट एसडी योगीले उत्कृष्ट गायकको अवार्ड हात पार्नुभयो उत्कृष्ट गायिकाको अवार्ड भने समीक्षा अधिकारीले ‘बोक्सीको घर’ चलचित्रको ‘बुझिनँ मैले’ बाट पाउनुभयो । प्रकाश सपुतले उत्कृष्ट सङ्गीतकारको अवार्ड पाउँदा प्रमोद अग्रहरि ‘अगस्त्य’ चलचित्रबाट उत्कृष्ट सहअभिनेता र वर्षा शिवाकोटी ‘परदेशी २’ का लागि उत्कृष्ट सहअभिनेतृ घोषित हुनुभयो । ‘उपहार’ चलचित्रबाट मित्र गुरुङले उत्कृष्ट सम्पादकको अवार्ड जित्नुभयो भने क्रिटिक्स च्वाइस अवार्ड ‘गाउँ आएको बाटो’ ले पाएको थियो । जुरी अवार्ड ‘बोक्सीको घर’ लाई प्रदान गरिएको थियो ।
अभिनेता नीर शाहले क्यालिफोर्निया जस्तो महँगो सहरमा नेपाली कलाकर्मी लगेर अवार्ड गर्नु गौरवको कुरा भएको बताउनुभयो । उहाँले यसप्रकारका सहभागितामूलक अवार्डले नेपाली फिल्मको बजार, प्रभाव र आकर्षण विस्तार गर्ने धारणा राख्नुभयो ।