शशिधर पराजुली
विराटनगर, पुस १८ गते । सङ्कटग्रस्त सहकारीहरूको व्यवस्थापन गर्न कोशी प्रदेश सरकारले समिति गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सङ्कटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।
त्यसका साथै उक्त समितिको काम कर्तव्य तथा अधिकारको विषय पनि टुङ्ग्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषदको बैठकको निर्णय बारे जानकारी दिँदै प्रवक्ता भण्डारीले सहकारी व्यवस्थापन गर्नेलगायत विभिन्न दस विषयमा निर्णय भएको बताउनुभयो ।
मन्त्रिपरिषदको बैठकले खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । यस्तै कोशी प्रदेश वन ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक र कोशी प्रदेश वातावरण संरक्षण ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयक कोशी प्रदेश सभा सचिवालयमा विधेयकको रूपमा पेस गर्ने निर्णय गरेको छ ।
पाथीभरा क्षेत्र विकास समिति, बृहत् वराह क्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समिति गठन गर्ने संशोधन आदेश २०८१ लाई स्वीकृत गर्ने र कृषि सहकारी मन्त्रालयबाट प्राप्त भएको कृषि कर्जा व्याज अनुदान सम्बन्धि कार्यविधिलाई स्वीकृत गर्ने निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।