बिष्णुप्रसाद पोखरेल
दमक, पुस १८ गते । झापामा जङ्गली हात्तीको नियमित आवतजावतका कारण जनजीवन प्रभावित बन्न थालेको छ । हात्तीहरू हुल लगाएर आउने कारण जनधनको क्षति गराउन थालेपछि जनजीवन प्रभावित बनेको हो ।
झापाको कचनकवल गाउँपालिकामा बस्ती नजिकै रहेको जङ्गलमा रहेका हात्तीहरूले क्षति पुर्याउन थालेका छन् । बिहीबार बिहान ६ वटाको सङ्ख्यामा आएको हात्तीले कचनकवल १ मा रामप्रसाद किस्कुको घर भत्काएको छ । घर पूर्णरूपमा भत्काएपछि किस्कु परिवारको बिचल्ली भएको छ ।
घर भत्काउनुका साथै घरभित्र रहेको अन्नपात सबै खाएको र नष्ट गरेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताउनुभयो । मध्यरातमा हात्तीको हुल आएपछि घरका मानिसहरूले भागेर ज्यान बचाएका छन्, भट्टराईले भन्नुभयो ।
बुधबार कचनकवल ७ मा रहेको दिपज्योति सामुदायिक वनमा घाँस दाउराका लागि जानु भएकी ३५ वर्षीया केलाबत्ती राजवंशीको हात्तीको आक्रमणमा परेर ज्यान गएको पनि उपाध्यक्ष भट्टराईले जनाउनुभयो ।
हात्तीको आक्रमणमा परेर घाइते भएपछि उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । हात्तीले राजवंशीलाई लखेटीलखेटी आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । समुहमा घाँस दाउरा गएका अन्यले भने भागेर ज्यान बचाएका थिए ।