• २१ पुस २०८१, आइतबार

गाउँकै अस्पतालमा प्रसूति सेवा

blog

शल्यक्रियामार्फत् जन्मिएको बच्चासँग । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, पुस १८ गते । गोरखाको पालुङटार नगरपालिकाकी २० वर्षीया अन्जु तामाङले आँबुखैरनी अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माउनुभयो । गाउँ नजिकैको अस्पतालमा सेवा पाउँदा उहाँ खुसी हुनुहुन्छ ।

गाउँबाट पोखरा वा भरतपुर पुग्न सहज छैन । आउजाउ गर्न झण्झट र आर्थिक समस्या पनि उत्तिकै छ । गाउँ नजिकै अस्पतालमा सहज सेवा पाएपछि अन्यत्र जाने समस्या टरेकोले खुसी लागेको तामाङ बताउनुहुन्छ । घर बाट आधा घण्टामै अस्पतालमा पुगेको यहाँ नभएको भए तीन, चार घण्टा टाढा एक दुई, तीन जना पनि साथमै लिएर जानुपर्दा झन्झटिलो हुने उहाँको भनाइ छ । 

तामाङले भन्नुभयो, "टाढाको ठाउँ, खाने, बस्ने गाडीभाडा खर्च, आउजाउ गर्न सकस हुन्थ्यो, नजिकै सुविधा पाइयो, औधी खुसी छु ।" तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित आँबुखैरेनी अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा सुरु भएपछि सहज भएको छ । मङ्गलबार सुत्केरी व्यथा लागेर  अस्पताल आउनुभएकी तामाङको पहिलो पटक शल्यक्रियामार्फत प्रसूति सेवा सुरु गरेको हो ।  

सफल शल्याक्रिया गरिएको अस्पतालका प्रमुख डा. डीबी क्षत्रीले जानकारी दिनुभयो । "३९ हप्ताको गर्भ रहेको उहाँको ४२ घण्टादेखि पानी बगेको तर प्रसव पीडा भएको थिएन," डा. क्षेत्रीले भन्नुभयो, "बच्चाले पेटमै दिसा गरेको र मुटुको धड्कन कम भइसकेको तर सुत्केरी व्यथा सुरु नहुँदा आकस्मिक शल्यक्रिया गरेका हौं अहिले शिशु र आमा दुवैको स्वास्थ्य अवस्था स्वस्थ छ ।" 

अस्पतालका प्रमुख डा. क्षत्री, मेडिकल अधिकृत डा. अविनाशकुमार रौनियार, एनेस्थेसिया सहायक भानु अर्याल, नर्सहरु सीमा सापकोटा क्षत्री, सविता विष्ट, पूजा रावल, मीना श्रेष्ठलगायतको सहयोगमा शल्यक्रियामार्फत प्रसूति गराइएको अस्पतालले जनाएको छ । शल्यक्रियामार्फत प्रसूति सेवाका लागि यही महिना स्वास्थ्य तथा जनस3|ख्या मन्त्रालयले अनुमति प्रदान गरेको थियो । आँबुखैरेनी अस्पतालका अध्यक्ष शुक्र चुमानले अस्पताल पुगेर नवजात शिशु र आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

अस्पतालमा पहिलोपटक शल्यक्रियामार्फत प्रसूति सेवा सुरु भएपछि अस्पतालले नागरिकलाई दिने स्वास्थ्य सेवामा एक कदम फड्को मारेको अध्यक्ष चुमानले बताउनुभयो । चुमानले भन्नुभयो, "स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम अस्पताल सञ्चालन ल्याएका थियौं, शल्यक्रियामार्फत प्रसूति सेवा दिन पाउँदा धेरै खुसी छौं ।" अब यस क्षेत्रका गर्भवतीलाई  अस्पतालमै सुरक्षित रुपमा प्रसूति गराउन आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरिसकिएको उहाँले बताउनुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आवश्यक उपकरणहरु उपलब्ध गराउनुभएकोले शल्यक्रिया सेवा सञ्चालन गर्न सहज भएको चुमानले जानकारी दिनुभयो । मन्त्री पौडेले नै गत साउन २१ गते अस्पतालको अप्रेसन कक्षको उद्घाटन गर्नु भएको थियो ।

अस्पतालबाट सानाठूला शल्यक्रियाको सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालमा गत पुस १३ र मङ्सिर २२ गते हर्नियाको सफल शल्यक्रिया गरिएको चुमानले बताउनुभयो । अस्पताल मृगौलाका बिरामीको लागि डायलाइसिस सेवा सञ्चालन गर्नको लागि पनि सूचीकृत भएको छ ।