कोकिला ढकाल
इलाम, पुस १८ गते । चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षाका लागि इलाम नगरपालिकामा न्यानो कपडा र आवश्यक सहयोग सामग्री उपलब्ध गराइएको छ । इलाम नगरपालिका-६ ले आफ्नो वडा भरिका ज्येष्ठ नागरिकप्रति उत्तरदायी हुँदै न्यानो स्वीटर, ज्याकेट, टोपी र सहयोग सामग्रीका रुपमा लौरो उपलब्ध गराएको हो ।
वडाले ८० जना जेष्ठ नागरिकलाई न्यायो कपडा र पाँच जनालाई लौरो प्रदान गरेको हो । वडाले एक कार्यक्रम गरी ९० वर्षमाथिका सात जना ज्येष्ठ नागरिकलाई सम्मान पत्रसहित सम्मान पनि गरेको छ । ज्येष्ठ नागरिकहरु समाजका गहना भएको भन्दै यी नागरिकहरुको स्याहार, संरक्षण र सम्मानमा जुट्न अहिलेको पुस्तालाई सिकाउनुपर्ने अवस्था आएको वडाध्यक्ष दुर्गा मदन श्रेष्ठले बताउनुभयो ।
"हामीलाई ज्येष्ठ नागरिक कहिले पनि धेरै हुँदैन, कसैले पनि वृद्ध आफ्ना बुबा–आमालाई हेंला होचो नगरी माया र सम्मान गर्न सिक्नुुपर्छ," वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, "अहिलेको पुस्तामा छोराछोरीको मात्र हेरविचार गर्ने र बाबुआमालाई वृद्धाश्रमतिर पठाउने चलन बढेको छ, यसमा हामी जनप्रतिनिधि पनि सचेत बन्नु आवश्यक छ ।"
सो अवसरमा आधारभूूत स्वास्थ्य केन्द्र पिपलबोटेबाट ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरी औषधीसमेत प्रदान गरिएको थियो ।