• २१ पुस २०८१, आइतबार

आन्दोलनको नाममा कृषि उत्पादन सडकमा नफाल्न आग्रह

blog

रिपोर्टस क्लबले बुटवलमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिना ।

छविलाल पाण्डे 

बुटवल, पुस १८ गते । नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले किसानलाई दिने अनुदान दुरुपयोग हुने प्रवृत्ति बढ्दै गएको बताउनुभएको छ । उहाँले बिचौलियाको हातमा अनुदान जानबाट रोक्न आफूहरुले कडा कदम चाल्ने दाबी गर्नुभयो । 

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल किसान महासङ्घका अध्यक्ष तिमिल्सिनाले सरकारी अनुदान लिएर दुरुपयोग गर्नेहरुको खोजी गर्नुपर्ने बताउनुभयो । 

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले बिहीबार गरेको साक्षात्कार कार्यक्रममा राष्ट्रिय किसान सञ्जालका अध्यक्षसमेत रहेका तिमिल्सिनाले अनुदान लिनेहरुको तथ्याङ्क खोजेर आम समुदायमाझ सार्वजनिक गर्ने चेतावनी पनि दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, "किसानको हक अधिकारविरुद्ध कुनै पनि सरकारसँग पनि साँठगाँठ गर्दिन, मेरो आफ्नै पार्टीको सरकार हुँदा किसानको हक अधिकारविरुद्ध मैले कुनै सम्झौता गरेको छैन ।" उहाँले किसानको अधिकार हनन भए जुनसुकै प्रतिरोध गर्न पनि तयार रहेको दाबी गर्नुभयो। 

सञ्जालको अध्यक्ष भएपछि आफूले किसानलाई धानको मूल्य दिलाएको, कालिमाटी तरकारी तथा फलफूल बजारलाई व्यवस्थित वनाएको समेत जिकिर गर्नुभयो । उहाँले लम्पीस्किनबाट पीडित किसानलाई राहत दिन क्षतिपूर्ति र बिमाको लागि लडेको, किसानले पाउने दुध र उखुको मूल्यको लागि कडा सङ्घर्ष गरेको उल्लेख गर्नुभयो । 

किसान महासङ्घका अध्यक्ष तिमिल्सिनाले आन्दोलन र दबाबको नाममा कृषि उत्पादन सडकमा नफाल्न किसानलाई आग्रह गर्नुभयो । विक्री नभएमा गरिब र विपन्न परिवारलाई दिन अनुरोध गर्दै उहाँले बढ्दो रासायनिक र विषादी प्रयोगले धेरै नागरिकहरुमा क्यान्सर जस्तो घातक रोगको सङ्ख्या बढ्दै गएकाले राज्यले समयमै जिम्मेवार भएर नियन्त्रण गर्न सुझाव दिनुभयो । उहाँले कृषिमा यान्त्रिकरण गरेर युवा पलायनलाई रोक्न विदेशको नीति भन्दा देशको भूगोलको अवस्था अध्ययन गरेर कृषि नीति बनाएर रोक्न तर्फ सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

तिमिल्सिनाले किसान महासंघको महाधिवेशन जुनसुकै अवस्थामा पनि गर्न आफू तयार रहेको बताउँदै नेपाली कांग्रेसले अधिवेसन गर्न भनेमा आजको ३०–३५ दिन भित्र अधिवेशन गर्न आफू तयार रहेको बताउनुभयो । 

महासङ्घ र राष्ट्रिय किसान सञ्जालको आफूले नेतृत्व गरिसकेकाले पदको लोभ नभएको भन्दै पदको लोभमा कार्यकाल नलम्ब्याउने तिमिल्सिनाको भनाइ छ । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।