• २१ पुस २०८१, आइतबार

उमाकुण्डमा नदीजन्य पदार्थ उत्खनन रोक

blog

जलविद्युत् आयोजनाले पूर्ण रूपमा पानी फर्काएपछिको रामेछापको उमाकुण्ड गाउँपालिका –१ स्थित लिखु खोला ।

नवराज श्रेष्ठ

रामेछाप, पुस १८ गते । रामेछापको उमाकुण्ड गाउँपालिकाले नदीजन्य पदार्थ ढुङ्गा र बालुवा उत्खननमा रोक लगाएको छ । लिखु खोलामा सञ्चालित जलविद्युत् आयोजनाले जथाभाबी नदीजन्य पदार्थ ढुङ्गा र बालुवा उत्खनन गरी वातावरणलाई प्रभावित पारेको भन्दै गाउँपालिकाले लिखु खोलामा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको हो । 

गाउँ कार्यपालिकाको पुस १५ गते बसेको बैठकले उमाकुण्ड गाउँपालिका अन्तर्गत लिखु नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री वितरणका लागि आइइई–इआइए प्रतिवेदन तयार नहुँदासम्म उत्खननको काममा रोक लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार आइइई–इआइए प्रतिवेदन तयारीका लागि तत्काल प्रक्रिया अगाडि बढाई ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ बमोजिम ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरण कार्य गरिने भएकाले सो कार्य पूरा नभएसम्मका लागि लिखु नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

गाउँपालिकाको निर्णय विपरीत ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरण गरेको पाइएमा बागमती प्रदेश सरकारको आर्थिक ऐन २०८१ बमोजिम जरिवाना गरिने गाउँपालिकाले सूचनामार्फत चेतावनी दिएको छ । 

लिखु नदीमा दुगड ग्रुपले सञ्चालन गरेको विभिन्न जलविद्युत् आयोजनाले सो क्षेत्रमा प्राकृतिक स्रोतको कानुनविपरीत दोहन गरिरहेको स्थानीयको आरोप छ । नदीको पानी सुकाएर ड्याममा पानी फर्काउँदा लिखुका जलचर नष्ट भएका र जङ्गली जनावरलाई पानी खान समेत समस्या भएको स्थानीय डोमा शेर्पाले बताउनुभयो ।