राजु लामिछाने
रुकुम पश्चिम, पुस १८ गते । सुख्खा याममा जङ्गली जनावर र चराचुरुङ्गीलाई पानीको अभाव हुन नदिन रुकुम पश्चिमका तीन स्थानमा रिचार्ज पोखरी निर्माण गरिएको छ । सानी भेरी गाउँपालिका –४ को टुरा, त्रिवेणी गाउँपालिकाको –९ को चौपारी र १० को भानीपोलेमा रिचार्ज पोखरी निर्माण गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रममार्फत विपद् जोखिम न्यूनीकरणका लागि आपतकालीन पूर्व तयारी क्षेत्र अन्तर्गत रिचार्ज पोखरी निर्माण गरेको हो । रेडक्रसका कार्यक्रम संयोजक सरोज थापाका अनुसार पारिस्थितिक प्रणालीमा देखिएको असर न्यूनीकरण गर्न र जङ्गली जनावर तथा चराचुरुङ्गीलाई पानीको आवश्यकता परिपूर्ति गर्न रिचार्ज पोखरी निर्माण गरिएको हो । जलस्रोतको पुनर्भरण गर्न तीन वटा रिचार्ज पोखरी बनाइएको उहाँको भनाइ छ ।
रिचार्ज पोखरी पानीका मुहानभन्दा माथिल्लो भागमा निर्माण गरिएको छ । पोखरीमा बाह्रै मास पानी जम्मा गरेर तल्लो क्षेत्रमा रहेका पानीका मुहान सुख्खा हुन नदिन पनि यो उपाय अपनाइएको हो । पोखरीमा आकाशे पानी सङ्कलन गरिनुका साथै उपलब्ध भएका बेलाको पानी जम्मा हुनेछ । पानीका स्राेतमा चिस्यान बनाइराख्न र जनावर तथा चराचुरुङ्गीहरूका लागि पानी व्यवस्था गर्न रिचार्ज पोखरी प्रभावकारी हुने स्थानीयको विश्वास छ । एक रिचार्ज पोखरीको क्षमता एक लाख ८० हजार लिटर छ ।
सानी भेरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मनोज बुढाथोकीले रिचार्ज पोखरी निर्माणले पानीको अभाव हुने स्थानमा रहेका जङ्गली जनावर र चराचुरुङ्गीलाई ठुलो राहत हुने बताउनुभयो । उहाँले पानीका मुहान सुकेको बेला जनावर र चराचुरुङ्गीले आफ्नो वासस्थान छोडेर जाने जोखिम रहेकोले रिचार्ज पोखरी अत्यावश्यक रहेको उल्लेख गर्नुभयो । पोखरी निर्माण गरिएका स्थानहरूमा विशेष गरेर सुख्खा याममा पानीको चरम अभाव हुने गर्दछ । मानिसहरूका लागि गाउँभन्दा टाढाबाट पाइपमार्फत पानीको जोहो गरिएको र जङ्गली जनावर र चराचुरुङ्गीको लागि निकै समस्या हुने गरेको थियो । अब भने उक्त समस्या हट्ने वडा अध्यक्ष बुढाथोकीको विश्वास छ ।
रेडक्रस रुकुम पश्चिमका सभापति रमा गौतमका अनुसार रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी) र विभिन्न साझेदार राष्ट्रिय सोसाइटीहरूको सहयोगमा जाजरकोट भूकम्पपछि यस क्षेत्रमा कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम सञ्चालन भइरहेको छ । जस अन्तर्गत अस्थायी आवास निर्माण तथा स्तरोन्नति, जीविकोपार्जन, विपद् जोखिम न्यूनीकरण, खानेपानी, सरसफाइ तथा स्वच्छता, संरक्षण लैङ्गिक तथा समावेशीकरण र सामुदायिक संलग्नता तथा जवाफदेहिता लगायतका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन भइरहेको सभापति गौतमले जनाउनुभयो ।