• २० पुस २०८१, शनिबार

हरिको सपना

blog

“बाबा, स्कुलको किताब कापी किनेन भनेर सरले मलाई गाली गर्नुभो । कापी किन्न पैसा दिनुहोस् त !”

“छैन पैसा सैसा उता जा” 

रक्सीले मात्तिएका बालाई देखेर हरिलाई खपिसक्नु भएन । “तपाईंलाई रक्सी खान पैसा हुन्छ मलाई कलम कापी किन्न पैसा छैन ? तपाईं कस्तो बाऊ हँ ?” भन्दै उसले बाबुको हातको बोतल खोस्न खोज्यो । 

“खाएँ त खाएँ । तेरै बाउको खाएँ । तँलाई के को चिन्ता हँ ? बर्ता बोल्दो रैछ !” भन्दै हरिको गालामा ‘चड्याम्म’ एक झापड हाने । 

बाबुको रातदिनको व्यवहारले हरि दिक्क भइसकेको थियो । आज ऊ चुप लागेर बस्न सकेन । “तिमीलाई लाज छैन् ? अरूसँग पैसा मागेर ल्यायो, रक्सी खायो । सक्छौ भने आफैँ कमाएर खाऊ,” हरिले भन्यो । “तँ चल्लो धेरै नकरा । मलाई सिकाउँछस् ?” बा रक्सीले मातेर ओछ्यानमा लडिसकेका थिए । बाको अवस्था देखेर हरिका आँखा रिसले राता राता भए । ‘आमा यहाँ भएको भए त कम्तीमा यस्तो हुने थिएन नि । म कस्तो अभागी ?’ उसले कोठाको भित्तामा झुन्ड्याइराखेको आमाको तस्बिर हेरिरह्यो र भन्यो कहाँ छ्यौ आमा ?  

हरि अब बुझ्ने भइसकेको थियो । ऊ कक्षा ६ मा पढ्थ्यो । बिहान सबेरै उठ्ने, भात पकाउने र बाबुलाई खाना दिएर भाँडा माझेर स्कुल जाँदा सधैँ ढिला हुन्थ्यो । कक्षामा सधैँ ढिलो पुग्थ्यो । साथीहरूले मजाक गर्थे । उसलाई नरमाइलो लाग्थ्यो । कहिलेकाहीँ त उसलाई स्कुल जान पनि मन लाग्दैनथ्यो तर पढ्ने मन भने थियो । बाको तरिका दिनदिनै त्यस्तै थियो । सधैँ कुटपिट, गाली खान थालेपछि उसलाई घरमा बस्न मन लाग्न छाड्यो । घर छोडेर हिँडौँ जस्तो लाग्यो तर कहाँ जाने ? जाने ठाउँ थाहा छैन । “आ जे सुकै होस् । सहर जान्छु । आफैँ पैसा कमाउँछु,” उसको मनले भन्यो । अनि उसको अर्को मनले भन्यो, “कसरी कमाउँछस् पैसा ? पैसा बोटमा फल्छ र ?” 

“काम गर्छु काम, जे भए पनि । आखिर घरमा पनि त मैले कम्ता काम गर्‍या छु र ? यति काम अर्काकोमा गरेँ भने त...” यत्ति सोचेर ऊ हिँड्यो । 

झमझम पानी परिरहेको थियो । सहर हिँडेको हरिलाई सहर कहाँ हो थाहै थिएन । उसले जानेको ठेगाना पनि थिएन । ऊ बसपार्कसम्म पुग्यो । साथमा पैसा पनि थिएन । बस चढ्न त पैसा चाहिन्छ । कसैले नदेख्ने गरी बसको पछाडिको भर्‍याङबाट उ छतमा चढ्यो । घुम्तीमा बस मोडिँदा बससँगै घरी यो कुना घरी त्यो कुना उछ्ट्टििन्थ्यो । उसले जोडले बसका डन्डी समात्यो । भिजेको शरीर, भोकप्यास र थकाइले लखतरान परेको थियो । बस रोकियो । ऊ झरेर कहाँ जाने ? थाहै थिएन ।  

अँध्यारो बढ्दै गयो । गाडी पनि कम चल्न थाले । रात सुनसान हुन थाल्यो । जति जति रात बढ्दै गयो, उति उति उसलाई डर लाग्न थाल्यो । उसको मुटु ढुकढुक गर्न थाल्यो । उसले गाउँ सम्झ्यो । बाउ सम्झ्यो । आ जे सुकै होस् । अब फर्किन्न । ऊ नजिकैको बस बिसौनीमा पुग्यो । त्यहाँ एक जना मान्छे कम्बल ओढेर बसिरहेको थियो । उसले तिनलाई, “म पनि यहाँ तपाईं सँगै बस्छु है ?” भन्यो ।

मान्छेले केही जवाफ दिएन । ऊ एकोहोरो हेरिरहेको थियो । हरिलाई डर लाग्यो । दिनभरिको थकाइ भोक र तिर्खाले सताएको थियो । उसले छेउमा कसैले आधा खाएर छोडेको पानीको बोतल देख्यो, त्यही पानी पियो र त्यहीँ इँटाको सिरान हालेर घुप्लुक्क निदायो । बिहान बाटो बढार्ने मानिसको चहलपहलले उसको निद्रा खुल्यो । आफूसँगै सुतेको त्यो मान्छे थिएन । यस्तै बढार्ने काम पाए पनि गर्थे नि बरु भन्ने उसलाई लाग्यो ।

भोकले उसको जिउ फतक्कै गलेको थियो । पारिपट्टिको होटेलबाट मालपुवा र सेलरोटीको बास्ना आइरहेको थियो । उसको भोक झन् जाग्यो । 

ऊ सरासर पारि पुग्यो । आफू जत्रै फुच्चे बाटाभरि जुठा भाँडा लिएर माझ्न बस्यो । उसले त्यो फुच्चेलाई हेरिरह्यो । नजिकै गएर सोध्यो, “तिम्रो नाम के ?” 

“घर काँ ?” 

 “था छैन” 

“बा आमा ?” 

“बा मरे, आमा अर्कैसँग गइन्...”

उसको कुरा सुनेर हरि एकैछिन केही बोल्न सकेन । 

“स्कुल पनि जान्छौ ?” 

“जान्छु दिउँसो” फुच्चेले अकमकाउँदै भन्यो । 

‘श्याम,  ए श्याम चाच्चाँडो माझ है गिलास चाहियो’ भित्र होटेलबाट साहु करायो । 

“मलाई पनि काम मिल्छ ?” उसले फेरि सोध्यो ।

“खै साहुलाई सोध” उसले भन्यो । हरि साहुको नजिक गयो विनम्र स्वरमा भन्यो, “साहुजी काम पाइन्छ ? म काम खोज्दै गाउँबाट आएको ।” उसले आफ्नो सबै कुरा बेलिबिस्तार लगायो । आफूलाई पढ्ने रहर भएको कुरा पनि गर्‍यो । 

साहुलाई मान्छे चाहिएको । हरिलाई काम । एकै पटकमा हुन्छ भने । दुई चार दिनमा नै उसले सारा काम सिक्यो । मालिक पनि खुसी थिए । ऊ नजिकैको स्कुलमा भर्ना पनि भयो । स्कुल जान पाएपछि हरिको पढ्ने चाहना पूरा भएको थियो । उसको खुसीको सीमा थिएन । 

साँझ श्याम र हरि एउटै कोठामा सुत्थे । श्यामले आफ्ना सपना सुनाउँथ्यो । हरि मक्ख परेर उपरखुट्टी लगाई ओछ्यानमा पल्टियो श्याम के के कुरा गर्दै थियो । ऊ भुसुक्कै भएछ । 

“आमा हिँड्नोस् अब घर जाऔँ । म तपाईंलाई लिन आएको मैले सहरमा ठुलो घर बनाएको छु । अब हामी त्यहीँ घरमा गएर बस्ने ।”

‘हरि, ए हरि, श्याम...’ ढोकामा कसैले जोडले ढकढक गर्‍यो । हरिको निद्रा अझै खुलेको थिएन । हरिले ‘जाम आमा घर जाम’ भनिरहेको थियो । 

“जाम हिँड भाँडा माझ्न, बिहान भयो” श्यामले हरिलाई झकझक्याउँदै उठायो । 

हरि आँखा मिच्दै “आमा...आमा खै ?” हरिले आमालाई यताउता खोज्दै भन्यो, “ओहो कस्तो मिठो सपना ! यो सपना पूरा गरेरै छाड्छु आमा...”

“छिटो आइज हरि...” श्यामको चर्को आवाज बाहिरबाट आइरहेको थियो ।  

मुना