• २० पुस २०८१, शनिबार

ठेकेदारको बदमासीले स्वास्थ्य सेवा प्रभावित

blog

जिल्ला अस्पताल पर्वतको निर्माणाधीन भवनको डी र ई ब्लक । तस्बिर: प्रनिश

प्रनिश गिरी

कुश्मा, पुस १८ गते । जिल्ला अस्पताल पर्वतको निर्माणाधीन पक्की भवनको काम ठेकेदारले समयमा सम्पन्न नगरिदिँदा सर्वसाधारणले प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका छन् । ठेकेदारले भवन निर्माणमा ढिलासुस्ती गरिदिए पछि अस्पताललाई ५० शय्या बेड क्षमतामा रूपान्तरण गर्ने लक्ष्य पूरा नहुने पर्वतवासीलाई चिन्ता छ ।

समयमा अस्पताल भवन निर्माणको काम पूरा हुन नसक्दा गर्भवतीका लागि व्यवस्थित वाड, अप्रेसन कक्ष, आइसियु जस्ता सेवा प्रदान गर्नका लागि स्थानको अभाव भएको छ ।  सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका प्रमुख इन्जिनियर कृष्ण महर्जनले पाउनु पर्ने जति रकम पाएर पनि समयमा काम सम्पन्न गर्नु जायज नभएको बताउँदै भन्नुभयो–अस्पताल भवन निर्माणको काम लामो समय रोकिएको थियो । बिचमा केही समय धिमा गतिमा काम गरेजस्तो देखियो तर यतिखेर फेरि केही हप्ता देखि रोकेको भन्ने सुनेर ठेकेदारलाई सोधपुछ गर्दा आर्थिक अवस्था मिलाएर केही दिनमा काम थाल्छु भन्ने छ । काम अनुसार भुक्तानी गरिदा पनि निर्माणको कामले गति लिएन भनी गुनासो आउनु जायज भएको छैन 

जिल्ला अस्पताल सञ्चालक समिति अध्यक्ष शङ्कर गिरीले भवन निर्माणको कामलाई ठेकेदारले समयमा पुरा नगरिदिँदा आइसियु सेवा, अप्रेसन थिएटर, भिडियो एक्स-रे लगायतका सेवाहरू व्यवस्थित तवरले प्रदान गर्न नसकिएको गुनासो गर्दै भन्नुहुन्छ–गरिब जनताको स्वास्थ्य सेवासँग जोडिएको अस्पताल भवन निर्माण समयमा नहुँदा थुप्रै कठिनाइ भएको छ । अस्पतालले प्रदान गर्ने सेवा विस्तार गर्न पाइएको छैन । १५ शय्याको अस्पताललाई ५० शय्याको अस्पतालमा रूपान्तरण गर्नु हाम्रो लक्ष्य हो । अस्पतालको स्वास्थ्य सेवा गुणस्तरीय र प्रभावकारी बनाउन पनि भवन निर्माणको काम छिटो सम्पन्न भई दिओस् भन्ने हाम्रो चाहना हो तर किन निर्माणको काम रोकिएको छ भन्ने कुरा नै बुझ्न सकिएको छैन ।

जिल्ला अस्पतालको दुईतले पक्की भवन निर्माणका लागि २०७५ असारमा श्याम सुन्दर गोर्खा जे.भी. कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको थियो । सम्झौता अनुसार २०७८ सालभित्र भवन निर्माणको काम सम्पन्न भइसक्नुपर्ने भए पनि ६ वर्ष पूरा हुँदासमेत ठेकेदारले निर्माण पूरा गरेको छैन । पटक पटक निर्माण अवधिका लागि म्याद थप गर्दै आएको निर्माण कम्पनीले असार मसान्तसम्मको म्याद थप गरेको बताइएको छ । सघन सहरी विकास कार्यालयका इन्जिनियर सुशील आचार्यका अनुसार भवन निर्माणको कुल लागत १८ करोड रहेकोमा ठेकेदारले करिब ८५ प्रतिशत रकम भुक्तानी लगिसकेको छ । अस्पतालले निर्माण गर्न लागेका कुल ५ वटा ब्लक मध्ये ए, बि, सी ब्लक निर्माण सम्पन्न भए पनि डी र इ ब्लकको निर्माण कार्य डेढ वर्षदेखि रोकिएको छ । 

अस्पताल भवन निर्माण कम्पनीका साइट इन्जिनियर अमित पाण्डेको भवन निर्माणको काम ९२ प्रतिशत सम्पन्न भई सकेको दाबी छ । इन्जिनियर पाण्डे भन्नुहुन्छ– दुईतले भवन निर्माणको काममा भेरिएसनका कारण केही ढिलाइ भएको हो । निर्माणको अन्तिम चरणमा छौँ । भित्री कोठाहरू र केही बाहिरी भागमा रङरोगन, विद्युत् जडान, प्लम्बिङलगायत फिनिसिङका केही काम बाँकी छ । अब धेरै समय लाग्दैन ।

अस्पतालले दैनिक जसो करिब ३ सय जनालाई ओपिडी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पताल प्रमुख डाक्टर हेमन्त बास्तोलाका अनुसार अस्पतालले डायलिसिस, फिजियोथेरापी, आँखा उपचार, पोषण पुनर्स्थापनालगायतका स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको छ । निर्माणाधीन भवनको फिनिसिङका केही काम समयमै  पूरा नगर्दा स्थान अभाव भई गर्भवतीका लागि व्यवस्थित वार्ड, अप्रेसन कक्ष, डाइग्नोसिस सेवा प्रदान गर्न कठिन भएको डाक्टर बास्तोलाको गुनासो छ ।