• २० पुस २०८१, शनिबार

विद्यार्थी सङ्गठनको औचित्य

blog

समाज परिवर्तनशील छ । समय सापेक्ष यसको संवाहक राजनीति पनि परिवर्तनशील हुनु जरुरी छ । समाज सापेक्षित चल्न नसक्ने संस्थाको समयले अयोग्य साबित गर्छ । व्यवस्था परिवर्तन शैक्षिक सुधार जनजीविकाको प्रश्न उठाउने सवालमा केन्द्रमै रहेर चेतना प्रवाह गर्ने संस्थाका रूपमा विद्यार्थी सङ्गठनको अत्यन्तै गौरवपूर्ण इतिहास छ । यसबाट परीक्षण भई बनेका विद्यार्थी नेताहरू आज देशको निर्णायक तहमा पुगेका छन्, त्यसमा कुनै दुविधा मान्नु पर्दैन । विगतमा राजनीतिक चेतना प्रवाह गर्न यस्ता सङ्गठनले आफूलाई समयसापेक्ष परिवर्तन गर्न सकेका छन त ? जटिल प्रश्नका रूपमा खडा भएको छ । त्यसै कारण आज यस्ता संस्थाको औचित्यमाथि प्रश्न उठ्नु अन्यथा मान्नुपर्ने कुरा छैन मत भिन्नता र विचारमा विविधता लोकतन्त्रको चरित्र नै हो ।

विद्यार्थी सङ्गठनको औचित्यको प्रश्न कति सान्दर्भिक कति असान्दर्भिक यो यसको चरित्रबाट पुष्टि हुने कुरा हो । विगतमा व्यवस्था परिवर्तन शैक्षिक सुधार राजनीतिक चेतना प्रवाहमा विद्यार्थी सङ्गठनले अहम् भूमिका खेल्यो भन्ने कुरामा सङ्कोच मान्नुपर्ने कारण छैन । यद्यपि अहिलेको लोकतान्त्रिक समाजमा विद्यार्थी सङ्गठनको भूमिकाको आयाम बदलिएका छन् । विगतमा जस्तो अहिलेको राज्य व्यवस्थाले दमनकारी मार्ग अपनाएको छैन त्यसैले विद्यार्थी सङ्गठनको कार्यगत स्वरूपमा परिवर्तन ल्याउनु आवश्यक छ ।

आजको अवस्थामा विद्यार्थी सङ्गठनको भूमिका विगतभन्दा पक्कै फरक छ, यद्यपि यसको आवश्यकताको सवालमा विगतभन्दा अहिले कम भएको चाहिँ छैन । विद्यार्थी सङ्गठनले विगतको सुँगा रटाइ कार्यशैलीले गर्दा यसको वर्तमान औचित्यमाथि प्रश्न उठेको छ । दलगत राजनीतिक किचलोका कारण निश्चित समयका लागि विद्यार्थी सङ्गठनलाई प्रयोग गर्ने माउ पार्टीको प्रवृत्तिले यसको शैक्षिक आवश्यकताभन्दा राजनीतिक आवश्यकता दर्शाएको हो । विगतमा जस्तो यसको आवश्यकता आज पनि उत्तिकै छ । विगतमा शैक्षिक, राजनीतिक, स्वतन्त्रताका लागि यसको औचित्य थियो भने आज शैक्षिक सुधार, रोजगारी, लोकतन्त्र र मानव अधिकारका उपलब्धिलाई संस्थागत गर्न यसको आवश्यकता खड्किएको छ । यद्यपि अहिलेका विद्यार्थी नेताहरूमा केही सुधार गर्नुपर्ने पक्ष छ । विगतमा जस्तो युवा अवस्थाका बिपी, पुष्पलाल जस्तो चेतनशीलता त्याग समर्पण अहिलेका विद्यार्थी नेताहरूमा पक्कै पनि  छैन । सानोतिनो उपलब्धिमा नै समग्र आन्दोलनलाई सङ्कुचित गर्ने हालका विद्यार्थी नेताहरू पछाडि पर्दैनन् । यसैको ज्वलन्त उदाहरण हो, विद्यार्थी नेतालाई माउपार्टी नेताहरूको स्वकीय सचिवमा मात्र सीमित राख्ने गरेका छन् । यद्यपि यसमा विद्यार्थी सङ्गठनको आफ्नै कमजोरी पनि देखिन्छ । अझै पुरानै शैलीको तालाबन्दी, सडक प्रदर्शन, चर्का नारा, विद्यार्थी सङ्गठनबिच झगडा आदिबाट गुज्रिरहेको छ । 

विद्यार्थी सङ्गठनलाई राजनीतिक चेतना फैलाउने नर्सरीको रूपमा पनि बुझ्न सकिन्छ । आजको अवस्थामा यी सङ्गठनले राजनीतिक चेतना विकास गराउन प्रभावकारी भूमिका खेल्न चुकेका छन् । फलस्वरूप समग्र राजनीतिप्रति नै युवाको चासोमा क्रमशः रास आउँदै छ । दलगत राजनीतिमा आबद्ध नरहे पनि समग्र राजनीतिप्रति नै वितृष्णा जाग्नु समग्र लोकतन्त्रप्रति नै खतराको सङ्केत हो । फलस्वरूप लोक रिझाइ गरेर चर्चा कमाएका व्यक्तिले समेत युवाको मन बहलाउन सफल भएको देखिन्छ । जसले गर्दा राजनीतिक अस्थिरता निम्त्याउने कारण बन्यो, यसको ज्वलन्त उदाहरण हो रवि लामिछानेको उदय । अहिलेको समयमा यसले वैचारिक दृष्टिकोणबाट स्पष्ट चेतनशील युवा जमात निर्माणमा भूमिका खेल्न सक्नु पर्छ । पहिले जस्तो सडक र चिया गफले अब युवा जमातलाई आकर्षित गर्न सक्ने अवस्था छैन । दलीय स्वार्थमा मात्र यो पूरा हुनेवाला छैन । अध्ययनको वातावरण सिर्जना विज्ञान प्रविधिको प्रयोगबाट रचनात्मक कार्यक्रमले यसलाई गतिशील गराउँदै लैजानु पर्छ । 

अझै पनि शिक्षा क्षेत्रमा अनगन्ती विसङ्गति छन् । नतिजा प्रकाशनदेखि शुल्क वृद्धि, परीक्षा प्रणाली थप बेरोजगारीको समस्या व्याप्त छन् । विश्वविद्यालय खुल्दै छन् तर अध्ययन गर्ने विद्यार्थीको अभाव छ । यस्ता विषयलाई विद्यार्थी सङ्गठनले आत्मसात् गर्नु पर्छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई क्रियाशील बनाएर नेतृत्व विकास साथै शैक्षिक सुधार गर्नु पर्छ । हुन त भातृ सङ्गठनबिनाको विद्यार्थी संस्थाको परिकल्पना र चर्चा पनि हुन्छ तर हाम्रो जस्तो दलीय लोकतन्त्र अभ्यास भएको मुलुकमा दलीय चुनाव जस्तै स्वतन्त्र विद्यार्थी युनियनको चुनावको अभ्यास गराउँदै लैजानु पर्छ । अहिलेको वर्तमान अवस्थामा विश्वविद्यालय शैक्षिक क्षेत्रमा मात्र कार्य गर्ने होइन कि विद्यार्थीको प्रतिभा पहिचानमा पनि भूमिका खेल्न सक्नु पर्छ । त्यसको जिम्मेवारी विद्यार्थी सङ्गठनले लिनु पर्छ । सजिलैसँग लाखौँ विद्यार्थी आबद्ध रहेको विद्यार्थी सङ्गठनलाई खारेजको चर्चा प्राज्ञिक तहबाटै सुनिन्छ । लोकतन्त्रलाई जीवन्त बनाउन सङ्घ संस्था खोलिनु पर्छ तर विडम्बना यहाँ भएकालाई गतिशील बनाउने बहसभन्दा त्यसलाई समाप्त गर्ने बहस हुन्छ । जुन लोकतन्त्रलाई घातक हो लाखौँ विद्यार्थी आबद्ध रहेको संस्था मर्दा त्यसले देशको आन्तरिक लोकतन्त्रलाई कस्तो प्रभाव पर्छ चिन्तन गर्नुपर्ने विषय छ ।

  अहिलेको अवस्थामा विद्यार्थी सङ्गठन शिक्षा र रोजगारीमा मात्र सीमित नरही हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धि, मानव अधिकार, कानुनको पालना, माउपार्टीभित्रको आन्तरिक लोकतन्त्र जस्ता विषयको उठान गरी यसको औचित्यलाई प्रभावकारी रूपमा उभ्याउन सक्नु पर्छ । आफ्नो माउपार्टीको परमादेशको कृपा दृष्टि खोज्ने पद्धति अब बन्द गरिनु पर्छ । भातृ सङ्गठनको राजनीतिक आवश्यकताबाहेक शैक्षिक क्षेत्रमा माउ पार्टीको आज्ञा अनुसार कार्य गर्ने प्रवृत्तिप्रति अङ्कुश लगाइनु पर्छ । पहिलेको अवस्थामा समग्र व्यवस्था परिवर्तन गर्न सक्ने भूमिका खेल्ने सङ्गठन अहिले आफूलाई सङ्कुचित राख्नु हुँदैन । शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी सबै कुरामा सशक्त आवाज उठाउन सक्नु पर्छ । सरकारबाट भए गरेका कामहरूलाई पारदर्शी र जवाफदेही बनाउन सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्छ ।

विगतमा भएको इतिहासलाई कायम राख्नु आफैँमा एउटा चुनौतीपूर्ण विषय हो । यसभित्र व्याप्त कमीकमजोरीलाई सच्याउँदै लैजानु पर्छ । राज्यको बृहत् हितका निम्ति यसको औचित्य पुष्टि गर्नु पर्छ । लोकतन्त्रमा सङ्घ संस्था खोलिनु पर्छ, यसको सुन्दर पक्ष यही हो । हालसम्मका स्थापित सङ्घ सङ्गठनलाई जोगाइराख्नु लोकतन्त्रको सबैभन्दा प्रबल पक्ष हो भन्ने कुरालाई सङ्कुचित राख्नु हुँदैन ।    

Author

मनोज सुवेदी