• २० पुस २०८१, शनिबार

हिउँदे विपद्का लागि तयारी अवस्थामा मुस्ताङ

blog

विपद् व्यवस्थापन समितिको बैठकमा सहभागीहरू ।

अमृतप्रसाद पौडेल

म्याग्दी, पुस १७ गते । हिउँदको समयमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुनैपनि अवस्थामा चनाखो रहने जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङले निर्णय गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको अध्यक्षतामा भएको विपद् व्यवस्थापनको बैठकले विगतको अव्यासको समीक्षा गर्दै आउन सक्ने सम्भावित परिस्थितिसँग जुध्नका लागि तयारी अवस्थामा रहने भएको छ । 

विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बमोजिम गाउँपालिका स्तरमा विपत्ती तथा हिमपातजन्य विपद्को अवस्थामा आवश्यक पर्ने विपद् उद्दार र राहत सामग्रीहरू तयारी अवस्थामा राख्ने भएको छ । आवश्यकताका आधारमा सबै स्थानिय तहहरू, सुरक्षा निकायहरू, अन्नपुर्ण क्षेत्र संरक्षण आयोजना(एक्याप) र जिल्ला रेडक्रस सोसाइटीसँग खोजेको बखत तत्काल उपलब्ध हुने गरी भण्डारण गर्ने निर्णय भएको विपद् व्यवस्थापन समितिका अध्यक्ष भुसालले बताउनुभयो ।

विपद् जन्य अवस्था तथा हिमपातको समयमा यात्रुहरूको सुरक्षा जोखिमलाई ध्यानमा राखी सड़क दुर्घटना हुन नदिने उपाय अवलम्बन गर्ने र यात्रुहरूको सुरक्षामा विशेष सर्तकता अपनाउने भएको छ । त्यस्तै विपद्बाट पर्न सक्ने प्रभाव र क्षतिको न्युनीकरणका लागि सबै सुरक्षा निकायहरूले आवश्यक स्रोत साधन सहित तयारी अवस्थामा राखिएको छ ।

जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र र स्थानीय विपद् व्यवस्थापन समिति नियमित समन्वय र सम्पर्कमा रहने साथै स्थानीय विपद् व्यवस्थापन समिति अन्तर्गतका फोकल पर्सनहरूले जिल्ला आपतकालिन कार्यसचालन केन्द्र एवम् सुरक्षा निकायहरूलाई विपद्को अवस्थामा तत्काल सूचना सम्प्रेषण गर्ने गरी तयारी थालिएको छ । कुनै पनि विपद्को अवस्थामा बाटो अवरुद्ध हुन नदिनका लागि आयोजना अन्तर्गतका ठेकेदार कम्पनीका मेसिनरी साधनहरू अद्यावधिक लगत राखि तत्काल परिचालन गर्न सक्ने गरी कालिगण्डकी कोरिडोर आयोजना, पूर्वाधार कार्यालय र अन्य स्थानीय तहले तयारी अवस्थामा राख्ने गरी निर्णय भएको जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य तिलक विकले जानकारी दिनुभयो ।

हिमाली क्षेत्रमा हुने लेक लागेर हुने बिरामीका लागि आकस्मिक उद्धार र उपचारका लागि पर्याप्त जनशक्ति र साधन स्रोतसहित चनाखो अवस्थामा रहन स्थानीय तह, सुरक्षा निकायहरू र जिल्ला अस्पताललाई आग्रह गरिएको छ ।

विभिन्न निकायसँग रहेका खोज तथा उद्वार सामग्रीहरूको विवरण तयार गरी उक्त सामग्रीहरू प्रयोग गर्ने विधि सम्बन्धमा जानकारी रहने गरी सबै सरोकारवालालाई निर्देशन गरिएको छ । स्थानीय पालिकाहरूलाई सबै सुरक्षा निकायका दक्ष जनशक्तिबाट सामुदायिक विपद् प्रतिकार्य जस्ता सचेतनामूलक कक्षा, अभ्यास तथा कार्यक्रमहरू सञ्चालन गरी क्षमता अभिवृद्धि गराउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।