इमान सिं राना
रामपुर (पाल्पा), पुस १७ गते । जिल्लाको रामपुरमा खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । दोस्रो किङ्गस कप भलिबलअन्तर्गत आगामी पुस २४ देखि २७ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
किङ्गस क्लब रामपुरको आयोजना र भम्बक युनाइटेड युथ क्लवको सह–आयोजनामा रामपुर नगरपालिका–५, भम्बकस्थित खेल मैदानमा प्रतियोगिता हुने भएको हो । युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्नुका साथै राष्ट्रिय खेल भलिबलको उत्थान र नयाँ खेल प्रतिभालाई प्रोत्साहन गर्न प्रतियोगिता सञ्चालन गर्न लागिएको किङ्गस क्लबका अध्यक्ष योगेन्द्र हमालले बताउनुभयो ।
प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर र रुपन्देही आठभन्दा बढी पालिकाको उपस्थिति रहने खेल संयोजक लक्ष्मण मल्लले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी समूहले दुई जना अन्य पालिकाको खेलाडी सहभागी गराउन सक्नेछन् । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर चर्चामा रहेका खेलाडीको समेत सहभागिता रहने मल्लले बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः एक लाख एक हजार १११ रुपियाँ, ६६ हजार ६६६ रुपियाँ, ४४ हजार ४४४ रुपियाँ र २२ हजार २२२ रुपियाँसहित पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडीलाई विभिन्न विधामा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।