बिन्दु थापा
पाल्पा, पुस १७ गते । खानेपानीमन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताउनुभएको छ ।
पाल्पाको तानसेन खानेपानी उपभोक्ता समिति तानसेन पाल्पाको विभिन्न स्थान, निर्माणाधीन खानेपानी परियोजनाहरूको स्थलगत अनुगमन गर्नुहुँदै निर्माण कार्यको प्रगतिसँगै आइपर्ने चुनौतीहरूको विस्तृत जानकारी लिने क्रममा सो कुरा बताउनुभएको हो ।
मन्त्री यादवले कालिगण्डकी खानेपानी आयोजना निरीक्षण गर्दै जिर्ण रहेका पम्पहरुका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले उपभोक्ताहरूलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि सरकार सधैँ लाग्नुपर्ने बताउनुभयो ।
तानसेन खानेपानी उपभोक्ता समितिको मन्त्री यादवले स्थानीय स्तरमा भइरहेको प्रगति, सञ्चालनमा रहेका योजना र चुनौतीहरूको समाधानका लागि सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । यादवले भन्नुभयो, “सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व हो । यसका लागि सरकार आवश्यक नीति र कार्यक्रममार्फत सुविधायुक्त र दिगो सेवा उपलब्ध गराउन प्रयासरत छ ।”
मन्त्री यादवले दीर्घकालीन योजना कार्यान्वयन गर्दै स्थायी, भरपर्दो र सहज पानी आपूर्ति सुनिश्चित गर्न सबै तहका साझेदारहरूसँग सहकार्यलाई सुदृढ गर्ने धारणा राख्नुभएको थियो ।
तानसेन खानेपानीका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले, ‘पानी जिवनको आधार , स्वच्छ पानी सबैको अधिकार’ भन्ने नारा लिएर तानसेनमा खानेपानी सहज रुपमा उपलब्ध बनाउने उद्देश्यका साथ लागिपरेको बताउनुभयो । श्रेष्ठले पाइप लाइन तथा पम्पहरु पुरानो र जीर्ण रहेकाले मर्मत सम्भारमा ठुलो खर्च लाग्ने भएकाले सरकाले सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।
यस्तै, कार्यक्रममा तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, एकीकृत समाजवादी पार्टी पाल्पाका अध्यक्ष अशोककुमार शाही, तानसेन उपभोक्ता समिति पाल्पाका सचिव प्रेमबहादुर मल्ल, सदस्य महेन्द्रबहादुर खातीले बोल्नुहुँदै नेपाल सरकारबाट प्राप्त हुँदै आएको अनुदान रकम नआउने भए पछि खानेपानी योजना सञ्चालन गर्न कठिन अवस्था सृजना भएकाले सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
उपभोक्ता समितिका अनुसार समितिबाट हाल उपभोक्ताहरुको सहजताका लागि पानी महसुलमा बढीमा ३३ प्रतिशतसम्म कम गरिएको छ । सानाठुुला गरी जम्मा २५ लाख लिटर क्षमताको पानी टङ्की रहेको भए पनि उक्त टङ्की जीर्ण अवस्थामा रहेकाले दैनिक पानी वितरण गर्न समस्या रहेका छ । तानसेन खानेपानी उपभोक्ता समिति तानसेन पाल्पामा खानेपानी विभाग पानीपोखरी महानिर्देशक रामकुमार श्रेष्ठ, सचिव प्रमिलादेवी बज्राचार्य, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीका आयोजना प्रमुख अरुण खरेल डिभिजन खानेपानी पाल्पाका आबिद हुसेन, बुटवल खानेपानी उपभोक्ता समितिका अध्यक्षलगायत राजनीतिकदल, जनप्रतिनिधि, पत्रकारलगायतको सहभागीता रहेको थियो ।