बाबुराम कार्की
वराहक्षेत्र, पुस १७ गते । तराईमा पुसको दोस्रो हप्तादेखि ह्वात्तै जाडो बढेको छ । जाडोसँगै बाक्लो हुस्सु र शीतलहर सुरु भएको छ । तराईमा केही दिनदेखि अत्यधिक चिसो बढ्न थालेपछि तराईको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहर तथा बाक्लो हुस्सुका कारण सुनसरीसहित तराईका जिल्लाहरुको जीवन प्रभावित बनेको छ ।
पुसको दोस्रो हप्तादेखि तराईमा चिसो बढ्दै गएपछि सुनसरीका ग्रामीण बस्तीहरुको जनजीवन प्रभावित बन्दै गएको छ भने चहलपलसमेत घटेको छ । हुस्सुसँगै शीतलहर र चिसो हावा चल्दा घरबाहिर निस्कन समस्या हुने गरेको वराहक्षेत्र १० का सीताराम चन्द्रवंशीले बताउनुभयो । चिसो बढ्न थालेपछि अति विपन्न परिवारमा न्यानो ओढ्ने ओछ्याउने कपडाको अभाव हुन थालेको छ ।
केही दिन यता बिहानैदेखि बाक्लो हुस्सु, शीतलहरसँगै चिसो हावा चल्दा जनजीवन थप प्रभावित बनेको हो । जाडो बढेपछि पूर्वी नेपालका ग्रामीण बस्ती र तराईका शहरहरुमा मानिसहरुको चहलपहल कम हुन थालेको छ ।
चिसोबाट साना बालबालिका, वृद्ध, अशक्त र बिरामीहरु बढी प्रभावित हुन थालेका छन् । स्वास्थ्य संस्थाहरुमा चिसोका कारण बिरामीको चाप बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । चिसोबाट कोल्ड डायरिया, निमोनिया, ज्वरो, रुघा, खोकी हुन सक्ने हुँदा सतर्कता अपनाउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका स्वास्थ्य अधिकृत कन्हैया शाहले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘दमका बिरामीहरु बढी चिसोका कारण प्रभावित हुने हुँदा चिसोबाट जोगिन र न्यानो कपडा र तातो झोल खानेकुराहरु खान र चिसोमा घर बाहिर ननिस्कन आग्रह गर्नुभएको छ । बालबालिकाहरुलाई न्यानो कोठामा राख्ने तर गुम्स्याउन नहुने, कोठामा बस्दा अक्सिजनयुक्त कोठामा बस्न र हिटरका प्रयोग गर्दा सचेत रहन आग्रह गर्नुभएको छ ।