• २० पुस २०८१, शनिबार

विपन्न परिवारलाई पक्की घर

blog

राजपुर गाउँपालिकामा विपन्न परिवारका लागि निर्माण गरिएका घरहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, पुस १७ गते ।
दाङको गढवा गाउपालिका–६ निवासी ५५ वर्षीय मायादेवी चौधरीलाई जाडो धकेल्न धौं–धौं थियो । घर्किदो उमेरमा दुई नाबालाक छोरासँगै फुसको छाना भएको घरमा बस्ने मायादेवीले यो वर्ष टिनले छाएको पक्की घर पाएपछि दङ्ग हुनुभएको छ ।

श्रीमानको निधन भएपछि एकल जीवन बिताउँदै आउनुभएको मायादेवीले आर्थिक अभावका कारण घर बनाउन नसक्दा पाँच वर्ष टहरामा दिन काट्दै आउनुभएको थियो । छोराहरु सात वर्षीय अर्पण र १० वर्षीय प्रवीणसँगै बस्दै आउनुभए पनि छोराहरु सानै भएकाले घरमा कमाउने कोही नभएको बताउनुहुन्छ ।

जग्गा जमिन पनि नभएको र घरमा कमाउने मानिस नहुँदा घर व्यवहार चलाउनदेखि छोराहरुलाई पढाउन समस्या भएको भन्दै उहाँले भन्नुभयो, ‘‘गाउँपालिकालगायत विभिन्न सहयोगीहरुले घर बनाइदिदा खुसी लागेको छ । चिसोमा कठ्याङ्ग्रिनुपर्ने बाध्यता हटेको छ ।’’

मायादेवी जस्तै राजपुर गाउपालिका–७ लैबरुवा निवासी देवा वली नयाँ घर पाउँदा खुसी हुनुहुन्छ । बस्नका लागि घर नहुँदा लमहीमा रहेको जेठाजुको घरमा बस्दै आउनुभएकी देवाले आफ्ना लागि ठुलो सहयोग भएको बताउनुभयो ।

घरमा कमाउने श्रीमानको मृत्यु भएपछि लमहीमा बस्दै आउनु भएकी देवा घर बनेपछि आठ वर्षीय छोरा कृषसँगै बस्न थालेको भन्दै भन्नुभयो, ‘‘आफ्नो घर नभएका कारण श्रीमान् गुमाएपछि छोरालाई पढाउन म लमहीमा जेठाजुको घरमा बस्दै आएका थिए । अबदेखि आफ्नै घरमा बसेर केही आयआर्जनका लागि काम गर्ने सोचमा छु ।’’ आफ्नै घर भए पनि केही काम गर्नका लागि पनि सहजता हुने भन्दै अव आफुले सक्ने सिप सिके आयआर्जनमा जोडिन मन भएको बताउनुभयो ।  

मायादेवी र देवा जस्तै राजपुर र गढवा गाउँपालिकामा ग्रामीण महिला उत्थान केन्द्रको निवास परियोजनाअन्तर्गत आठ जना महिला विपन्न परिवारको घर निर्माण गरिदिएको छ । निवास परियोजनाअन्तर्गत प्रतिघर तीन लाख रुपियाँ, राजपुर र गढवा गाउँपालिकाको प्रतिघर एक लाख ५० हजार रुपियाँ र बाँकी घरधनीको जनश्रमदानबाट आठ वटा घरहरु निर्माण गरेर सम्बन्धित परिवारलाई हस्तान्तरण गरेको ग्रामीण महिला उत्थान केन्द्र दाङका  अध्यक्ष आसमानी चौधरीले बताउनुभएको छ ।

आर्थिक रुपमा विपन्न महिला र बालबालिकालाई सुरक्षित आवासीय सुविधा पुर्‍याउने उद्देश्य अनुसार गाउँपालिकासँग समन्वय गरेर गढवा र राजपुर गाउँपालिकामा ४/४ गरेर ८ वटा सौचालयसहित भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण गरेको बताउनुभयो । उहाँका अनुसार गाउँमा भएका असहाय एकल महिला जसका १६ वर्ष मुनिका बच्चा भएका र बसोबासमा समस्या भएका परिवारका लागि घर निर्माण गरिएको भन्दै अध्यक्ष चौधरीले भन्नुभयो, ‘‘गाउँपालिकासँग समन्वयमा स्थानीय जनसमुदायको सहभागीतामा घरहरु निर्माण गरेर हस्तान्तरण गरेका छौं, आगामी दिनमा विपन्न महिलाहरु भेटिए थप घर बनाउने छौ ।’’

आर्थिक रुपमा विपन्न महिलाहरुलाई घर निर्माणसँगै अब छोराछोरीलाई १२ कक्षासम्म निःशुल्क शिक्षा र काम गर्न सक्नेलाई सिप सिकाएर रोजगारसँग जोड्ने तयारी भइरहेको राजपुर गाउँपालिका अध्यक्ष  बुढाथोकीले बताउनुभयो । 

घर निर्माणसँगै आयआर्जनमा जोड्न सके परिवार चलाउनदेखि छोराछोरीलाई पढाउन सहजता हुने भन्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले भन्नुभयो, ‘‘विपन्न परिवारलाई घर निर्माणसँगै महिलाहरुलाई आयआर्जनमा जोड्दै दैनिक जीविको पार्जनमा सहयोग पुगोस भन्ने सोचेका छौं ।’’