ढल्केबर समाचारदाता
ढल्केबर, पुस १७ गते । मधेश प्रदेश सरकारले सीमान्तकृत तथा विपन्न समुदायका छ सयभन्दा बढी छात्रालाई छात्रवृत्ति दिने प्रव्रिmया अघि बढाएको छ । सीमान्तकृत तथा विपन्न समुदायका छात्राको उच्च शिक्षामा पहुँच बढाउन मधेश सरकारले छात्रवृत्ति दिन प्रक्रिया अगाडि बढाएको हो ।
शिक्षा निर्देशनालय मधेश प्रदेशका निमित्त निर्देशक ठुलोबाबु दाहाले दलित, विपन्न, मुस्लिम तथा जेहेनदार छात्रालाई छात्रवृत्ति प्रदान गरिने बताउनुभयो । उहाँले लाभग्राहीको छनोट अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार छात्रवृत्तिका लागि छनोटमा परेका निर्धारित समूहका छात्रालाई सामान्य धारतर्फ २५ हजार र प्राविधिक धारतर्फ ३५ हजार रुपियाँ वार्षिक छात्रवृत्ति रकम दिइने छ । पर्याप्त सङ्ख्यामा आवेदन परेकाले निर्धारित चार समूह र जिल्लागत ढङ्गले बराबरी हुने गरी छात्रवृत्तिका लागि उम्मेदवार छनोट हुने निमित्त निर्देशक दाहालको भनाइ छ ।
प्रदेश सरकारले उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ । प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले कमजोर तथा जेहेनदार छात्रालाई उच्च शिक्षा हासिल गर्न सुविधा हुने र आत्मबल वृद्धि गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले आर्थिक कारणले नै छात्राको पढाइ अवरुद्ध हुने गरेको अनुभवका आधारमा छात्रवृत्ति दिएर छोरी शिक्षालाई प्रदेशमा प्रवर्धन गर्न लागिएको उल्लेख गर्नुभयो ।
मधेश प्रदेशमा जन्मिएर देशका कुनै पनि सामुदायिक सार्वजनिक शिक्षण संस्थामा अध्ययनरत निर्धारित समूहका छात्रालाई दरखास्त दिन गत मङ्सिरमा आह्वान गरिएको थियो । जनकपुरधामस्थित प्रदेश शिक्षा निर्देशनालय र प्रदेशका आठ वटै जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइको कार्यालयमा दरखास्त दिने व्यवस्था गरिएको थियो । प्रदेश शिक्षा निर्देशनालयका निमित्त निर्देशक दाहालले निर्देशनालयमा एक हजार ७१ वटा दरखास्त परेको र विभिन्न जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइहरूबाट दरखास्त सङ्कलन भइरहेको जानकारी दिनुभयो । छनोटमा परेका छात्रालाई सिधा खातामा जाने गरी छात्रवृत्ति रकम पठाइने निर्देशनालयका अधिकृत थनेश्वर यादवले बताउनुभयो ।